बैशाख १८ ,रुकुम पूर्वबाट रोल्पाको जलजलातर्फ जाँदै गरेको जिप हिजो दुर्घटना हुँदा २० जनाले ज्यान गुमाएका छन्। दुर्घटनामा घाइते भएका एक जना उपचारपछि घर फर्किएका छन् भने एक यात्रुले जिपको छतबाट हाम फालेर ज्यान जोगाएको बताएका छन्।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार मृतकमध्ये केही रुकुम पूर्वका र केही दाङ जिल्लाका रहेका छन्। प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार रुकुम पूर्व सिस्ने गाउँपालिका–५ टाकुराका ३२ वर्षीय गोर्ख विक, ५३ वर्षीया तिलकुमारी बुढाथोकी, २८ वर्षीय युवा बिसी, १० वर्षीय दिव्यन बिसी, २४ वर्षीया सृजना बुढाथोकी, १३ वर्षीया सुदीप बुढाथोकी र ४० वर्षीया ओमकुमारी बुढाथोकी रहेका छन्।
त्यसैगरी दाङको घोराही उपमहानगरपालिका–१५ रतनपुरका ५४ वर्षीया दोरपती जिसी, ३२ वर्षीया तिला जिसी, ७ वर्षीया जेनिस जिसी, १२ वर्षीया जेनिसा जिसी, २५ वर्षीया एलिना जिसी, ७ वर्षका संयोग जिसी तथा उमेर नखुलेका यमबहादुर जिसी र घोराही–१३ का धनमाया बिष्ट पनि मृतकमध्ये छन्।
यसैगरी शान्तिनगर गाउँपालिका घर भई हाल सिस्ने–५ मा बस्दै आएका सवारी चालक ४२ वर्षीय बेदु कामी, सिस्ने–५ की ६० वर्षीया मीना कमिनी र ६० वर्षीया लक्ष्मी शाह तथा रुकुम पूर्व भुमे गाउँपालिका–५ का टेकप्रसाद बस्नेत र सिस्ने–५ की २७ वर्षीया रुपमिना बस्नेतले पनि ज्यान गुमाएका छन्।