सल्यान — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सल्यान प्रदेश सभा क्षेत्र नं. १ (क) बाट प्रदेश प्रतिनिधि (खुला) पदमा बागचौर नगरपालिका–८, कोटमौलाका पुर्ण चन्दले उम्मेदवारी घोषणा गरेका छन् ।

लामो समय शिक्षण पेसामा रहेर सेवा गरेका निवृत्त शिक्षक चन्दले पार्टी संगठनलाई थप सुदृढ, अनुशासित र एकताबद्ध बनाउन आफूले उम्मेदवारी दिएको बताएका छन् ।
शिक्षण क्षेत्रमा लामो अनुभव हासिल गरेका चन्द सामाजिक गतिविधिमा समेत सक्रिय रहँदै आएका छन् । उनले क्षेत्रका स्थानीय आवश्यकता, जनसरोकारका विषय तथा समग्र विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
स्थानीय नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा चन्दले भने, ‘सल्यान प्रदेश सभा क्षेत्र नं. १ (क) को समग्र विकास, कोटमौला लगायत क्षेत्रको समृद्धि र नेपाली कांग्रेसलाई थप एकताबद्ध एवं गतिशील बनाउन मैले प्रदेश प्रतिनिधिमा उम्मेदवारी दिएको हुँ ।’
उनले आफूलाई अमूल्य मत दिएर विजयी गराउन क्षेत्रीय प्रतिनिधिहरूसँग आग्रहसमेत गरेका छन् ।
चन्दको उम्मेदवारीसँगै कोटमौला तथा आसपासका क्षेत्रमा उनको राजनीतिक तथा सामाजिक योगदानबारे चर्चा हुन थालेको छ । समर्थकहरूले उनको लामो शिक्षण अनुभव, सामाजिक सक्रियता र संगठनप्रतिको योगदानलाई आधार बनाएर निर्वाचन अभियान अघि बढाइरहेका छन् ।








