-२०८३ भदौ २७ बागचौर नगरपालिका सल्यान ।

बागचौर नगरपालिका–२, थारमारेस्थित श्री जनकल्याण नमुना माध्यमिक विद्यालयको ५२औँ वार्षिकोत्सव तथा नवनिर्मित शैक्षिक भवन उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ। उक्त समारोहमा विद्यालयको १५ कोठे तीनतले नवनिर्मित शैक्षिक भवनको उद्घाटन प्रमुख अतिथि बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतमले गर्नुभएको हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागचौर नगरपालिकाका उपप्रमुख सुम्निमा डी.सी. वली, निवर्तमान नगर प्रमुख लोकमान बुढाथोकी, निमित्त प्रमुख प्रशासकीय अधिकृत पूर्ण वली, नगर प्रवक्ता दिपेश डी.सी., शिक्षा शाखाका प्रमुख वरिष्ठ शिक्षा अधिकृत नरेन्द्र प्रसाद भट्ट, विभिन्न वडाका वडा अध्यक्षहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख जनकराज गौतमले जनकल्याण नमुना माध्यमिक विद्यालय बागचौर नगरपालिकाको शैक्षिक विकासको महत्वपूर्ण आधारका रूपमा रहेको बताउनुभयो। उहाँले विद्यालयको भौतिक पूर्वाधार विकाससँगै शैक्षिक गुणस्तर सुधारलाई पनि प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो। साथै विद्यालयको भौतिक पूर्वाधार विकास, शैक्षिक उन्नति तथा गुणस्तर अभिवृद्धिका लागि नगरपालिकाले आवश्यक सहयोग र सहकार्य गर्न प्रतिबद्ध रहेको बताउनुभयो। कार्यक्रममा विद्यालयको शैक्षिक उपलब्धि, विगतको प्रगति तथा आगामी योजनाबारे प्रधानाध्यापक पवित्रलाल बस्नेतले जानकारी गराउनुभएको थियो।

विद्यालयबाट सेवा निवृत्त शिक्षकहरूलाई सम्मान तथा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो। सो अवसरमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक, सिर्जनात्मक तथा मनोरञ्जनात्मक प्रस्तुति समेत प्रस्तुत गरेका थिए। १५ कोठे तीनतले नवनिर्मित भवन सञ्चालनमा आएसँगै विद्यालयको भौतिक पूर्वाधार थप सुदृढ भएको छ। नयाँ भवनले विद्यार्थीहरूको पठनपाठनका लागि थप सहज, सुरक्षित तथा गुणस्तरीय वातावरण निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । समारोहको सञ्चालन सहायक प्रधानाध्यापक तुल्सीराम बस्नेत र मोहन भण्डारीले गर्नुभएको थियो।