सल्यान ,असोज १० शनिबार । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सल्यानबाट युवा नेता थमन योगीले ३५ वर्षमुनिको युवा क्लस्टरबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।

पार्टीभित्र युवा पुस्ताको प्रतिनिधित्व र नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै योगीले आफ्नो उम्मेदवारी अघि सारेका हुन्। बागचौर नगरपालिका–८, कोटमौला, सल्यानका योगी लामो समयदेखि कांग्रेसको संगठन तथा सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका छन्।

युवाका सवाललाई पार्टीको नीति निर्माण र निर्णय प्रक्रियासम्म पुर्याउने, संगठनलाई थप गतिशील बनाउने तथा सल्यानका स्थानीय आवश्यकता र विकासका मुद्दालाई केन्द्रसम्म प्रभावकारी रूपमा उठाउने आफ्नो प्राथमिकता रहेको योगीले बताएका छन्।
उम्मेदवारी घोषणा गर्दै योगीले भने, “सल्यानका स्थानीय मुद्दा, विकास निर्माणका आवश्यकता र युवाका आवाजलाई केन्द्रीय तहसम्म सशक्त रूपमा पुर्याउनु मेरो मुख्य ध्येय हो। अग्रजहरूको मार्गदर्शन र साथीहरूको सहयोगबाट पार्टीलाई थप सुदृढ, एकताबद्ध र गतिशील बनाउन योगदान गर्नेछु।”
नेपाली कांग्रेसको संशोधित विधानअनुसार १५औँ महाधिवेशनमा ३५ वर्षमुनिका युवाको केन्द्रीय महाधिवेशन प्रतिनिधित्व सुनिश्चित गरिएको छ। प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट कम्तीमा तीन जना ३५ वर्षमुनिका युवा महाधिवेशन प्रतिनिधि आउने व्यवस्था गरिएको छ।
यही युवा क्लस्टरबाट उम्मेदवारी दिएका योगीले ‘युवा जोस, उज्यालो सल्यान’ भन्ने नारासहित महाधिवेशन प्रतिनिधिहरूसँग समर्थन, सुझाव र सहयोगको अपेक्षा गरेका छन्।
उनको उम्मेदवारीसँगै सल्यान कांग्रेसमा युवा पुस्ताको प्रतिनिधित्व र आगामी नेतृत्वबारे चर्चा थप चुलिएको छ।








