सल्यान, बागचौर — बेपत्ता रहेका बागचौर नगरपालिका–४ पानीखाना निवासी टेकबहादुर वलीको कंकाल रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–३ झण्डाहान्ने नजिकैको जंगलमा करिब ४०/४२ दिनपछि फेला परेको छ।
परिवारका अनुसार वली २०८२/०७/१४ गते घरबाट सल्यानको दार्मा गाउँपालिकामा लाग्ने मेलामा जाने भनेर निस्किएका थिए। त्यसयता उनी बेपत्ता रहेका कारण परिवार, स्थानीयवासी र सुरक्षाकर्मीहरूले निरन्तर खोजतलास गरे पनि फेला परेका थिएनन्।
आज जंगलमा फेला परेको कंकालसँगै भेटिएका सुन्तला रंगको हुडी, गलबन्दी, पाइन्ट, पसलको चाबी, कालो रबरको जुत्ता, बेल्ट तथा बागचौर–४ को स्थानीय बासिन्दा भनेर बिजुली मिटरका लागि खिचिएको फोटो भएको पर्सका आधारमा मृतक उनी नै भएको परिवारले पुष्टि गरेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान अघि बढाइएको र फेला परेको कंकाललाई रुकुम पश्चिम जिल्ला प्रहरी कार्यालयमार्फत जिल्ला अस्पताल सल्लेमा पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ।
घटना कसरी घट्यो भन्नेबारे प्रहरीले अनुसन्धान जारी राखेको छ।








