सल्यान चैत २६,
सल्यानको दार्मा गाउँपालिका–६ मल्चा निवासी ५९ वर्षीय प्रेम बहादुर कामी मृत अवस्थामा फेला परेका छन्।
आज दिउँसो करिब २:०० बजे स्थानीयवासीले चिसापानी भिरबाट करिब १०० मिटर तल एक व्यक्ति मृत अवस्थामा रहेको जानकारी इलाका प्रहरी कार्यालय दार्मामा फोनमार्फत दिएका थिए। घटना सुनेर प्रहरी हवल्दार पुष्कर विकको कमाण्डमा ३ जनाको टोली तुरुन्तै घटनास्थल पुगेको थियो।
थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय थारमारेबाट प्रहरी निरीक्षक याम बहादुर मल्लको नेतृत्वमा ५ जनाको टोली पनि घटनास्थलतर्फ खटिएको छ। प्रहरीका अनुसार मृतक कामी हिजो जाजरकोटबाट घर फर्कँदै गरेका थिए।
घटनास्थल इलाका प्रहरी कार्यालय दार्माबाट करिब १२ किलोमिटर पूर्वमा पर्ने बताइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।








