सल्यान बैशाख ११– बागचौर नगरपालिका–२ चिसेखोलीमा भएको आगलागीबाट नगदसहित दस लाख मूल्य बराबरको धनमाल नष्ट भएको छ।
स्वर्गीय बम बहादुर डि.सी.को पुर्खौली घर हटाई नयाँ ढलानवाला घर निर्माण गर्ने तयारीका क्रममा घरका सम्पूर्ण सामान अर्को घरमा राखिएको अवस्थामा एक्कासी आगलागी भएको हो। आगलागीबाट करिब १० लाख रुपैयाँ नगद, सुन, तामा, काँसका भाँडाकुँडा, अदुवाको बीउ, सिमेन्ट तथा लत्ताकपडा पूर्ण रूपमा जलेर नष्ट भएको प्रारम्भिक विवरण छ।
घटनाको कारण र क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ।

आगलागीपछि बागचौर नगरपालिकाका नगर प्रमुख जनक राज गौतम, उप–प्रमुख सुम्निमा डि.सी. वलीसहित जनप्रतिनिधि तथा नगर प्रहरीको टोली घटनास्थलमा पुगेर निरीक्षण गरेको छ।


नगरपालिकाले पीडित परिवारलाई तत्काल आवश्यक लत्ताकपडा, खानेकुरा लगायत राहत सामग्रीको व्यवस्था गरेको जनाएको छ।