सल्यान — बागचौर नगरपालिका द्वारा सञ्चालन गरिएको नगरस्तरीय कक्षा ८ को परीक्षामा सरस्वती शारदा आधारभूत विद्यालय ले शतप्रतिशत नतिजा हासिल गर्दै नमूना सफलता हात पारेको छ।
नगरस्तरीय परीक्षामा कुल २५ सामुदायिक विद्यालय र १ संस्थागत विद्यालय सहभागी भएका थिए। तीमध्ये बागचौर–१ ठिन्बाङस्थित सरस्वती शारदा आधारभूत विद्यालयका परीक्षामा सहभागी सबै ९ जना विद्यार्थी उत्तीर्ण हुँदै शतप्रतिशत नतिजा हासिल गर्न सफल भएका हुन्।
विद्यालयका प्रधानाध्यापक रेशमलाल बस्नेत ले शिक्षक, विद्यार्थी र अभिभावकबीचको निरन्तर सहकार्य, मेहनत र अनुशासनका कारण यस्तो उल्लेखनीय नतिजा सम्भव भएको बताउनुभयो। उहाँका अनुसार विद्यालयले नियमित कक्षा सञ्चालन, अतिरिक्त अभ्यास तथा निरन्तर मूल्याङ्कनलाई प्राथमिकता दिँदै आएको छ।
त्यस्तै, बागचौर–१ स्थित न्यायघाट आधारभूत विद्यालय रोटेपानीले पनि ९० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै राम्रो नतिजा हासिल गरेको छ।
नगरपालिकाले परीक्षा सञ्चालनका लागि केन्द्र तोकी केन्द्राध्यक्ष खटाएको थियो भने उत्तरपुस्तिका समेत पालिकामै परीक्षण गरिएको जनाइएको छ। यस उपलब्धिले सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास बढ्ने अपेक्षा गरिएको छ।