सल्यान जिल्लाको बागचौर नगरपालिका–६ मा घर भइ हाल समुदायका लागि संचार रेडियो मध्यपहाड मा कार्यरत सञ्चारकर्मी गोरख डी.सी.ले आफ्नो जन्मदिनको अवसरमा आफूले अध्ययन गरेको श्री सरस्वती माध्यमिक विद्यालय जामुनेचौर मा अध्ययनरत कक्षा १ देखि ५ सम्मका ११० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन्।


जन्मदिनलाई केवल व्यक्तिगत उत्सवका रूपमा नभई सामाजिक उत्तरदायित्वसँग जोड्ने उद्देश्यले आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई कापी, कलम लगायतका शैक्षिक सामग्री प्रदान गरिएको थियो । साथै, विद्यालयमा प्रत्येक शुक्रबार सञ्चालन हुने अतिरिक्त क्रियाकलाप अन्तर्गत आयोजित म्युजिक तथा डान्स प्रतियोगिताका उत्कृष्ट विद्यार्थीहरूलाई प्रदान गरिने पुरस्कारसमेत गोरख डी.सी.को तर्फबाट वितरण गरिएको थियो।


कार्यक्रममा बोल्दै गोरख डी.सी.ले आफूले शिक्षा हासिल गरेको विद्यालयमै फर्किएर विद्यार्थीहरूलाई सानो भए पनि सहयोग गर्न पाउँदा अत्यन्त खुसी लागेको बताए। उनले आगामी दिनहरूमा पनि शिक्षा, सामाजिक सेवा तथा बालबालिकाको प्रोत्साहनका क्षेत्रमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।


यसैबीच विद्यालय परिवारले उनको जन्मदिनको अवसरमा विशेष सम्मान तथा सरप्राइज कार्यक्रमको आयोजना गरेको थियो। उक्त सम्मान र मायाप्रति कृतज्ञता व्यक्त गर्दै उनले सम्पूर्ण शिक्षक–शिक्षिका, कर्मचारी तथा विद्यालय परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गरेका छन्।


विद्यालय प्रशासनले पूर्व विद्यार्थी तथा सञ्चारकर्मी गोरख डी.सी.ले जन्मदिनको अवसरमा गरेको सहयोग र योगदान प्रशंसनीय रहेको बताउँदै यस्ता प्रेरणादायी कार्यले विद्यार्थीहरूमा सकारात्मक सोच, सामाजिक उत्तरदायित्व तथा अध्ययनप्रतिको उत्साह बढाउने विश्वास व्यक्त गरेको छ।