सल्यान ” वैशाख १५ — आजदेखि देशभर विद्यालय तहको नयाँ शैक्षिक सत्र औपचारिक रूपमा सुरु भएको छ। सरकारको निर्णयअनुसार हरेक वर्ष वैशाख १५ गतेदेखि विद्यालय तहको शैक्षिक सत्र सुरु गर्ने व्यवस्था गरिएको हो।
यसअघि वैशाख २ गतेदेखि शैक्षिक सत्र सुरु हुँदै आएकामा वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयले भर्ना लिने क्रम रोक्न तथा इन्धन आपूर्तिमा हुने असहज अवस्थालाई ध्यानमा राख्दै वैशाख १५ गतेदेखि शैक्षिक सत्र सुरु गर्ने निर्णय गरिएको थियो।
यद्यपि, कतिपय स्थानीय तहको सहजीकरणमा वैशाख १५ अगावै नै विद्यार्थी भर्ना सम्पन्न भइसकेको छ।
यसैबीच, सरकारले निजी (संस्थागत) विद्यालयहरूले कानुनविपरीत लिएको भर्ना तथा अन्य शुल्क फिर्ता गराउन गत चैत २२ गते निर्देशन दिएको थियो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका, २०७२ अनुसार तोकिएको शुल्कबाहेक अन्य शुल्क लिएको पाइएमा फिर्ता गराउन सम्बन्धित स्थानीय तहलाई कानुनी प्रक्रिया अघि बढाउन अनुरोध गरेको जनाएको छ।