सल्यानको बागचौर नगरपालिकामा बालविवाह, किशोरावस्थाको गर्भधारण तथा विद्यालय छाड्ने अवस्थालाई न्यूनीकरण गर्ने उद्देश्यले आयोजना गरिएको दुई दिने कार्यशाला तालीम सम्पन्न भएको छ।

Ipas Nepal र दलित विकास समाज (DDS) को समन्वयमा २०८३ साल वैशाख १० र ११ गते सञ्चालन गरिएको उक्त तालीममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा नगर प्रमुख जनक राज गौतम, उप–प्रमुख सुम्निमा डिसी वली, वडा अध्यक्षहरू, शिक्षा तथा खेलकुद शाखाका प्रतिनिधिहरू, वरिष्ठ शिक्षा अधिकृत नरेन्द्र भट्ट, स्वास्थ्य शाखा प्रमुख बिनय डिसी, शिक्षक, विद्यार्थी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख जनक राज गौतम ले बालविवाह, किशोर गर्भधारण र विद्यालय छाड्ने समस्या समाजका गम्भीर चुनौतीका रूपमा रहेको बताउँदै यसको न्यूनीकरणका लागि अभिभावक, शिक्षक र समुदाय सबैको साझा प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले यस्ता सचेतनामूलक कार्यक्रमले किशोर–किशोरीलाई सही मार्गदर्शन प्रदान गर्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।

तालीममा बालविवाहका असर, किशोरावस्थामा हुने गर्भधारणका जोखिम तथा विद्यालय छाड्ने अवस्थाका कारण र समाधानका उपायबारे सहभागीहरूबीच अन्तरक्रिया गरिएको आयोजकले जनाएको छ।








