२५ भदौ २०८३, बिहिवार आफ्नो जन्मदिनमा भड्किलो भोजभतेर र फजुल खर्च गर्ने संस्कार बढ्दै गइरहेका बेला एक युवाले भने जन्मदिनको खर्च बचाएर बिरामीको उपचारमा सहयोग गर्दै उदाहरणीय कार्य गर्नुभएको छ। ग्लोबल आईएमई बैंक थारमारेमा कार्यरत कर्मचारी तथा समाजसेवी दिपक भण्डारी (राईफल) ले आफ्नो जन्मदिनको फजुल खर्च कटाएर गम्भीर बिरामी भई अस्पतालमा थलिनुभएका डिल्लीबहादुर दाहालको उपचारका लागि १५६५ रुपैयाँ (एक हजार पाँच सय पैंसठी) आर्थिक सहयोग प्रदान गर्नुभएको छ।

सल्यानको दार्मा गाउँपालिका–३, फारुलाचौर निवासी डिल्लीबहादुर दाहाल वैदेशिक रोजगारीका क्रममा मेसिनमा च्यापिएर गम्भीर घाइते भई हाल काठमाडौँस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत हुनुहुन्छ। उपचारका क्रममा ठूलो रकम खर्च भइसकेको र थप उपचारका लागि आर्थिक संकट परेको थाहा पाएपछि भण्डारीले आफ्नो जन्मदिनको अवसर पारेर सो रकम सहयोग गर्नुभएको हो। सामाजिक सञ्जाल र स्थानीयस्तरमा उहाँको यो मानवीय कार्यको उच्च प्रशंसा भइरहेको छ। “जन्मदिनमा गरिने अनावश्यक फजुल खर्चलाई सामाजिक कार्यमा लगाउन सके कसैको जीवन बचाउन र परिवारलाई आशा दिन सकिन्छ” भन्ने सन्देश उहाँको यस कदमले दिएको छ।

सानो भए पनि समयमै गरिएको यो सहयोगले उपचाररत दाहाल र उहाँको परिवारका लागि ठूलो हौसला र आशा प्रदान गरेको छ। भण्डारीको यो सत्कर्मले समाजका अन्य व्यक्तिहरूलाई पनि जन्मदिन वा अन्य खुसीका अवसरमा फजुल खर्च नगरी दुःखी-पीडितलाई सहयोग गर्ने प्रेरणा दिएको छ।