सल्यान पुष२४। प्रेस युनियन सल्यानका सदस्य तथा रेडियो मध्यपहाड एफ.एम.मा कार्यरत, बागचौर नगरपालिका वडा नं. ५ निवासी बिबेक वलीले आफ्नो जन्मदिनको अवसरलाई सामाजिक सेवासँग जोड्दै मानवीय उदाहरण प्रस्तुत गर्नुभएको छ।
सल्यान जिल्ला बागचौर नगरपालिका–८, खत्रीगाउँ निवासी झक्कु बिकका छोरा ज्ञानबहादुर बिक बचाउ अभियान अन्तर्गत वलीले रु. ४,०००/- (चार हजार रुपैयाँ मात्र) आर्थिक सहयोग प्रदान गर्नुभएको हो।
जन्मदिनलाई औपचारिक कार्यक्रम, तडकभडक र खर्चिलो उत्सवभन्दा अलग राख्दै पीडित परिवारको पीडामा साथ दिनु नै साँचो खुसी हो भन्ने सन्देश दिनुभएको वलीले बताउनुभयो। उहाँका अनुसार समाजमा रहेका असहाय, विपन्न तथा उपचाररत व्यक्तिहरूका लागि सहयोग गर्नु प्रत्येक नागरिकको नैतिक दायित्व हो।
सहयोग प्राप्त परिवारले कठिन परिस्थितिमा सहयोग प्राप्त भएको भन्दै आभार व्यक्त गर्दै यसले आफूहरूलाई नयाँ आशा र आत्मबल प्रदान गरेको प्रतिक्रिया दिएका छन्।
अभियान पक्षले पनि सञ्चारकर्मी वलीको यस मानवीय कार्यको प्रशंसा गर्दै यस्ता सकारात्मक कार्यले समाजमा सहयोग, सहानुभूति र मानवीय भावनाको विकास हुने विश्वास व्यक्त गरेको छ।
स्थानीय सञ्चारकर्मीको रूपमा सूचना सम्प्रेषणसँगै सामाजिक उत्तरदायित्वमा समेत सक्रिय वलीको यो कदम अनुकरणीय उदाहरण बनेको छ।








