भदौ ६,

नेपाल कम्युनिष्ट पार्टी (विप्लव नेतृत्व)ले भोलि भदौ ७ गते मंगलबार नेपाल बन्दको आह्वान गरेको छ ।

तत्कालीन सरकारसँग भएको तीन बुँदे राजनीतिक सहमतिका विपरित पार्टीका नेतालाई गरिएको पक्राउ पुर्जी जारी, एमसीसी, भ्रष्टाचार, महंगीका विरुद्धमा दाङसहित देशैभर बन्दको आह्वान गरिएको नेकपा सल्यानका जिल्ला सेक्रेटरी नारायण चन्दले बताए ।

उनका अनुसार बन्दको समयमा अस्पताल, होटल, चिया खाजा घर, एम्बुलेन्स, प्रेस, डेरी लगाएतका अत्यावश्यक सवारी साधन बाहेक अन्य सबै बन्द रहने छ । बन्दमा सार्वजनिक सवारी साधन, उद्योगधन्दा, स्कुल, कलेज सबै बन्द गरि सहयोग गरिदिन सम्पूर्णलाई आह्वान समेत गरिएको उनले बताए ।

बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म बन्द हुने उनको भनाइ छ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव आहुती, नेकपा (माओवादी समाजवादी ) का अध्यक्ष कर्णजित बुढाथोकी‘शुसिल’ ले यसअघि नै एक संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल बन्द सहित संघर्षका कार्यक्रमको आह्वान गरेका हुन् ।

४ कम्युनिस्ट पार्टीले नेकपा र नेपाल सरकार बिच भएको ३ बुँदे सहमति अविलम्ब कार्यान्वयन र पक्राउ पुर्जी तत्काल खारेज, राष्ट्रघाती एमसीसी, एसपीपी सम्झौता,असमान सन्धि सम्झौता खारेज र मुल्यवृद्धी र भ्रष्टाचार नियन्त्रण गर्न माग गर्दै भाद्र ७ गतेको नेपाल बन्द आह्वान गरेका छन् ।