११ भदौ २०८३, बिहिवार सल्यानको सिद्धकुमाख गाउँपालिका-१ चाख्लीघाँटमा दुईवटा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका डिल्ली विकको उपचारका क्रममा मृत्यु भएको छ।

बिहीबार साँझ करिब ५ बजे राप्ती राजमार्गअन्तर्गत चाख्लीघाँटमा रा ४ प ९४७१ र रा ३ प ४७९५ नम्बरका दुई मोटरसाइकल सडकदेखि करिब २० मिटर तल रहेको चाख्लीघाँट खोलामा खस्दा चार जना घाइते भएका थिए।

दुर्घटनामा रा ३ प ४७९५ नम्बरको मोटरसाइकल चालक कुमाख गाउँपालिका-७ का करिब ३० वर्षीय डिल्ली विक गम्भीर घाइते भएका थिए। उनको टाउको र छातीमा चोट लागेको थियो। श्रीनगरस्थित शारदा मेट्रो अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि घोराही, दाङ रिफर गरिएका विकको साँझ ७:४९ बजे घोराहीस्थित संजीवनी टिचिङ हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन्।

दुर्घटनामा सोही मोटरसाइकलमा पछाडि सवार बागचौर नगरपालिका-२ का करिब १९ वर्षीय चन्द्रप्रकाश वली पनि गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारका लागि नेपालगन्ज, बाँके रिफर गरिएको छ।

त्यस्तै, रा ४ प ९४७१ नम्बरको मोटरसाइकल चालक बागचौर नगरपालिका-२ का करिब ३० वर्षीय धिरज घर्ती र पछाडि सवार सोही ठाउँका करिब २३ वर्षीय अर्जुन बुढामगर घाइते भएका छन्। दुवैको अवस्था मध्यम रहेको र थप उपचारका लागि घोराही, दाङ रिफर गरिएको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।