सल्यान चैत २७ —
उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय सल्यानको २ लाख ५० हजार रुपैयाँ तथा बागचौर नगरपालिका सल्यानको ३ लाख रुपैयाँको संयुक्त बजेटमा सञ्चालित दुई महिने कटाई–सिलाई सीपमूलक तालिम आज एक कार्यक्रमका बीच बागचौर नगरपालिका–५ मा समापन गरिएको छ।

दुई महिनासम्म सञ्चालन भएको उक्त तालिममा सहभागी प्रशिक्षार्थीहरूले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतारी व्यावसायिक बन्ने तथा आवश्यक परे ऋणसमेत लिई व्यवसाय सञ्चालन गर्ने योजना रहेको बताएका छन्।

उक्त सीपमूलक तालिम प्रशिक्षक निमा थापा ले प्रदान गर्नुभएको थियो। तालिम अवधिभर सहभागीहरूलाई कटाई–सिलाई सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो।

समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा नगर प्रमुख जनक राज गौतम, विशिष्ट अतिथिका रूपमा प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर भट्टराई, वडा नं. ५ का अध्यक्ष जोगेन्द्र वली, इलाका प्रशासन कार्यालय बागचौर सल्यानका टेक बहादुर घर्ती, उद्यम विकास सहजकर्ता शोभाराम भण्डारी, नगर प्रहरी प्रमुख नवराज चन्द, पत्रकार तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख गौतमले कटाई–सिलाई जस्ता सीपमूलक तालिमले महिलाहरू तथा युवाहरूलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

उहाँले सीप सिकेपछि रोजगारीको खोजीमा बाहिर जानुपर्ने बाध्यता कम हुने र आफ्नै गाउँ–ठाउँमा बसेर आम्दानी गर्न सकिने उल्लेख गर्नुभयो।
नगर प्रमुख गौतमले आगामी दिनमा पनि यस्ता सीपमूलक तालिमहरूलाई निरन्तरता दिँदै जाने तथा सीप सिक्न इच्छुक कोही पनि नागरिक छुट्न नदिने नगरपालिकाको योजना रहेको बताउनुभयो। साथै, तालिमपश्चात् व्यवसाय सञ्चालन गर्न आवश्यक सहयोग तथा सहकार्यका कार्यक्रमहरू सञ्चालन गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

उक्त कार्यक्रमको अध्यक्षता उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय सल्यानका कार्यालय प्रमुख श्याम खरेलले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण ध्रुव खत्रीले गर्नुभएको थियो।








