बैशाख १२- सल्यान, बागचौर नगरपालिका–२ लामाडाँडामा निर्माणाधीन लामाडाँडा खानेपानी तथा सरसफाइ आयोजना को स्थलगत अनुगमन गरिएको छ।

अनुगमनका क्रममा नगर प्रमुख जनक राज गौतम, उप–प्रमुख सुम्निमा डिसी वली, नगर प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष दिपेश डिसी, इन्जिनियर जनक राज जोशी, वास (WASH) सल्लाहकार अम्बदत्त अवस्थी, वास सहजकर्ता ठाकुर भण्डारी, प्राविधिक दिपक डिसी, सामाजिक परिचालक कमल वली तथा गुणस्तर नियन्त्रण अधिकृत भत बहादुर ढाड लगायतको टोली सहभागी रहेको थियो।

उक्त आयोजना आर्थिक वर्ष २०८२–०८३ को आयोजना अन्तर्गत बागचौर नगरपालिकाको ५९ लाख रुपैयाँ बजेट तथा सुस्वा (SUSWA) को प्राविधिक सहयोगमा सञ्चालन भइरहेको छ। ‘एक घर धारा’ अवधारणा सहित सञ्चालन गरिएको यो आयोजना बागचौर नगरपालिकाको गौरव आयोजनाका रूपमा रहेको छ।

आयोजना सम्पन्न भएसँगै ४९ घरधुरीमा स्वच्छ र सुरक्षित खानेपानी सेवा पुग्ने बताइएको छ। हालसम्म आयोजनाको करिब ७५ प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी २५ प्रतिशत काम आगामी जेठ मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण समितिका अध्यक्ष मदन बस्नेत ले जानकारी दिनुभयो।

स्थानीय उपभोक्ताहरूका अनुसार यसअघि उनीहरूले खानेपानीका लागि खोला तथा टाढाको मुहानसम्म करिब एक घण्टा पैदल हिँडेर पानी ल्याउनुपर्ने बाध्यता थियो। अब घरघरमै धारा जडान भई पानी आउने भएपछि स्थानीयवासी खुशी र हर्षित भएका छन्। उनीहरूले नगर सरकारप्रति धन्यवाद समेत व्यक्त गरेका छन्।

नगर प्रमुख जनक राज गौतम ले भन्नुभयो,
“लामाडाँडा खानेपानी तथा सरसफाइ आयोजना बागचौर नगरपालिकाको गौरव योजना हो। ‘एक घर धारा’ अवधारणालाई साकार पार्दै ४९ घरधुरीमा घरघरमै स्वच्छ खानेपानी पुर्‍याउने हाम्रो लक्ष्य छ। वर्षौंदेखि खोल्सा र टाढाबाट पानी बोकेर जीवन चलाउँदै आएका नागरिकहरू अब आफ्नै घरमा धारा देख्न पाउनेछन्, जुन हाम्रो विकासको वास्तविक उपलब्धि हो। तोकिएको समयभित्र गुणस्तरीय रूपमा आयोजना सम्पन्न गर्न नगरपालिकाले निरन्तर अनुगमन र सहजीकरण गर्दै आएको छ।”

अनुगमनका क्रममा आयोजनाको प्रगति, निर्माणको गुणस्तर तथा समयमै काम सम्पन्न गर्ने विषयमा आवश्यक सुझाव तथा निर्देशन दिइएको जनाइएको छ। नगरपालिकाले स्थानीय नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले आयोजना प्रभावकारी रूपमा अगाडि बढाइएको जनाएको छ।