४ साउन २०८३, सोमवार १६ वर्षअघि दक्षिण अफ्रिकामा पहिलो पटक विश्व फुटबलको शिखर चुमेको स्पेनले फेरि एकपटक विश्वमाथि आफ्नो आधिपत्य स्थापित गरेको छ । युवा प्रतिभा, आकर्षक पासिङ फुटबल र सामूहिक प्रदर्शनको बलमा स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जित्दै दोस्रो पटक विश्व च्याम्पियन बनेकाे हाे ।

न्युयोर्क–न्यु जर्सी स्टेडियममा भएको फाइनलमा साविक विजेता अर्जेन्टिनालाई १-० ले हराउँदै स्पेनले १६ वर्ष पछि विजेता भयकाे हाे । सन् २०१० पछि पहिलो पटक विश्वकप उचालेसँगै स्पेनले आफ्नो नयाँ पुस्ता विश्व फुटबलको नेतृत्व गर्न तयार रहेको स्पष्ट सन्देश पनि दिएको छ ।

प्रशिक्षक लुइस डे ला फुन्तेको नेतृत्वमा स्पेनले प्रतियोगिताभर सबैभन्दा आकर्षक र सन्तुलित फुटबल खेल्ने टोलीको परिचय दिएको थियो । बल नियन्त्रण, उच्च प्रेसिङ, तीव्र आक्रमण र अनुशासित रक्षाको मिश्रणले स्पेनलाई उपाधिसम्म पुर्‍यायो । फ्रान्सजस्तो दाबेदार टोलीलाई सेमिफाइनलमा प्रभावशाली रूपमा पराजित गरेपछि स्पेनले फाइनलमा पनि आफ्नो लय कायमै राख्यो, साविक विजेता अर्जेन्टिनालाई पराजित गर्‍यो ।

फाइनलमा अर्जेन्टिना विरुद्ध निरन्तर अट्याकिङ फुटबल खेल्दै स्पेनले दर्जनभन्दा बढी अवसर बनाएको थियो । तर पनि जितका लागि भने अतिरिक्त समय नै कुर्नु परेकाे थियाे । लामिन यमाल, पाउ कुबार्सी, पेड्रो पोरो, फेरान टोरेसजस्ता युवा खेलाडी र रोड्री, फाबियन रुइज तथा आयमेरिक लापोर्टजस्ता अनुभवी खेलाडीको सन्तुलित संयोजनले स्पेनलाई विश्वविजेता बनायो ।

प्रभावशाली विजय यात्रा

स्पेनले समूह चरणमा अपेक्षाअनुसार सहज सुरुआत भने गर्न सकेको थिएन । पहिलो खेलमा आश्चर्यजनक टोली केप भर्डेसँग गोलरहित बराबरी खेलेपछि उसले साउदी अरेबियालाई ४–० ले हरायो । अन्तिम खेलमा उरुग्वेमाथि १–० को जित निकाल्दै समूह विजेताका रूपमा नकआउट चरणमा पुग्यो ।

राउन्ड अफ ३२ मा अस्ट्रियालाई ३–० ले सहज रूपमा हराएको स्पेनले त्यसपछि पोर्चुगललाई १–० र बेल्जियमलाई २–१ ले पराजित गर्‍यो । दुवै खेलमा मिकेल मेरिनोले अन्तिम समयमा निर्णायक गोल गरेका थिए ।

सेमिफाइनलमा भने स्पेनले प्रतियोगिताकै उत्कृष्ट प्रदर्शन गर्दै फ्रान्सलाई पूर्ण रूपमा दबाबमा राख्यो । लामो समय बल नियन्त्रणमा राख्दै फ्रान्सको आक्रमणलाई निष्क्रिय बनाएको स्पेनले प्रभावशाली जित निकाल्दै फाइनल यात्रा तय गरेको थियो ।