३० वैशाख २०८३ ,१६औं जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता को उपाधि शारदा नगरपालिकाले हात पारेको छ। बनगाड कुपिण्डे नगरपालिका–१ राताचौरमा सम्पन्न प्रतियोगितामा शारदाले १२ स्वर्ण, १० रजत र ६ कास्यसहित कुल २८ पदक जित्दै लगातार दोस्रो पटक उपाधि जित्न सफल भएको हो।

यस्तै, छत्रेश्वरी गाउँपालिका ८ स्वर्ण, ४ रजत र ७ कास्यसहित कुल १९ पदक प्राप्त गर्दै दोस्रो स्थानमा हासिल गर्ना सफल भएको हो। आयोजक स्थानीय तह बनगाड कुपिण्डे नगरपालिका ले ७ स्वर्ण, ६ रजत र १५ कास्य गरी ३२ पदक जित्दै तेस्रो स्थान हासिल गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खड्क प्रसाद आचार्य ले जानकारी दिनुभएको छ ।
यस्तै, बागचौर नगरपालिकाले ५ स्वर्ण, ६ रजत र ११ कास्यसहित चौथो, कपुरकोट गाउँपालिका ६ स्वर्ण, ६ रजत र ७ कास्यसहित पाँचौं तथा दार्मा गाउँपालिका ५ स्वर्ण, ८ रजत र १० कास्यसहित छैटौं स्थान हासिल गर्न सफल भएका छन् ।
त्यस्तै, कालिमाटी गाउँपालिका ४ स्वर्ण, ३ रजत र १ कास्यसहित सातौं, त्रिवेणी गाउँपालिका ४ स्वर्णसहित आठौं, कुमाख गाउँपालिका १ स्वर्ण, ९ रजत र ६ कास्यसहित नवौं तथा सिद्ध कुमाख गाउँपालिका १ स्वर्ण, २ रजत र १० कास्यसहित दशौं स्थानमा देखिएका छन्।
अध्यक्ष आचार्यका अनुसार प्रतियोगितामा ५४ स्वर्ण, ५४ रजत र ७७ कास्य गरी कुल १८५ पदकका लागि जिल्लाका १० स्थानीय तहबाट ८ सयभन्दा बढी खेलाडी सहभागी भएका थिए। प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डीलगायत विभिन्न खेल विधामा प्रतिस्पर्धा गराइएको थियो। साथै उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सम्मान समेत गरिएको बताउनुभएको छ ।
उपाधि विजेता शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले आफ्नो पालिकालाई लगातार दोस्रोपटक विजेता बनाउन सफल भएकोमा र अनुशासित मर्यादित रहेर खेल खेलेकोमा सम्पूर्ण विद्यार्थीहरूलाई सम्मान व्यक्त गर्नुभएको थियो।








