सल्यान पुष १,

बागचौर नगरपालिका–१२ मा अवस्थित श्री दुर्गा सरस्वती माध्यमिक विद्यालयको ५०औँ वार्षिक उत्सव तथा स्वर्ण जयन्ती समारोह भव्य रूपमा उद्घाटन भयो।

कार्यक्रममा प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले प्रदेश सरकारले शिक्षा क्षेत्रमा विशेष ध्यान दिनेदेखि गुणस्तरीय शिक्षा प्रवर्द्धनमा निरन्तर लगानी गरिरहेको बताउनुभयो।

विशिष्ट अतिथि पूर्व मन्त्री भीम प्रकाश शर्माले विद्यालयको स्वर्ण जयन्तीले शिक्षा क्षेत्रको निरन्तर प्रगतिको उदाहरण प्रस्तुत गरेको बताउँदै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्राप्त गर्न उत्साहित गर्नुभयो।

समारोहमा जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावल, बागचौर नगरपालिकाका उप–प्रमुख सुम्निमा डी.सी. वली, वडा अध्यक्ष दिपेश डिसी, भिम बहादुर भण्डारी, केश बहादुर भण्डारी, साथै शिक्षक, अभिभावक, विद्यार्थी, शिक्षाविद्, समाजसेवी तथा स्थानीयहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


समारोहमा नगर प्रमुख जनकराज गौतमले सम्बोधन गर्दै नगरपालिकाले शैक्षिक सुधारलाई उच्च प्राथमिकतामा राखी निरन्तर काम गरिरहेको बताउनुभयो।

उहाँले समग्र विकासका क्षेत्रहरूमध्ये सबैभन्दा बढी लगानी शिक्षा क्षेत्रमा गरिएको उल्लेख गर्दै गुणस्तरीय, व्यवहारिक र पहुँचयोग्य शिक्षा प्रदान गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।

स्वर्ण जयन्तीको अवसरमा उहाँले विद्यालयको शैक्षिक उन्नति, विद्यार्थीहरूको उज्ज्वल भविष्य तथा दीर्घकालीन सफलताको कामना गर्दै विद्यालय परिवारलाई हार्दिक शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रमको सभापति, वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष टिकाराम भण्डारीले गर्नु भएको थियो ।

यसैबीच, प्रधानाध्यापक अमृत खत्रीले स्मारिका विमोचन तथा विद्यालयको प्रगति र उपलब्धिहरूबारे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

सम्पूर्ण कार्यक्रम संचालक सायक प्रधानाध्यापक टेक बहादुर खत्रीले सफलतापूर्वक सञ्चालन गर्नुभएको थियो।

समारोहले विद्यालयको ऐतिहासिक योगदानको स्मरण गर्दै आगामी दिनमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो।