मंसिर १५ ,बालउपकार आधारभूत विद्यालयमा सम्मान तथा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न |

बागचौर नगरपालिका–७ सानापोखरा, सल्यानस्थित श्री बालउपकार आधारभूत विद्यालयले विद्यालय स्थापना कालदेखि अहिलेसम्म संस्थागत विकासमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तिहरूलाई विशेष सम्मान प्रदान गरेको छ। विद्यालयमा आयोजित कार्यक्रममा पूर्व व्यवस्थापन समितिका पदाधिकारी, पूर्व विद्यार्थी, शिक्षक, अभिभावक, समाजसेवी तथा विद्यालयप्रति निरन्तर सहयोग पुर्याउँदै आएका व्यक्तिहरूलाई प्रशंसा पत्र र दोसल्ला प्रदान गरी सम्मान गरिएको थियो।।

विद्यालयका अनुसार समुदायको निरन्तर सहयोग, सहभागिता र सहकार्यले शैक्षिक गुणस्तर वृद्धि र भौतिक पूर्वाधार विस्तारमा महत्वपूर्ण टेवा पुगेको छ।
त्यसै अवसरमा सल्यानी समाज दक्षिण कोरिया कार्यसमितिबाट प्राप्त न्यानो कपडाहरू विद्यार्थीहरूलाई वितरण गरिएको थियो। विद्यालयले उक्त सहयोगले चिसो मौसममा विद्यार्थीहरूको पठन–पाठन सहज र प्रभावकारी बन्ने विश्वास व्यक्त गरेको छ।

कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष ठाकुर प्रसाद वलीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नगर प्रमुख जनकराज गौतम प्रमुख अतिथि तथा नगर प्रवक्ता दिपेश डि.सी विशिष्ट अतिथि रहनुभएका थिए। साथै वडा अध्यक्ष प्रेम बहादुर डाँगी, निवर्तमान वडा अध्यक्ष शेर बहादुर घर्ती, वडा सदस्य, विद्यालय व्यवस्थापन समिति, शिक्षक–कर्मचारी, अभिभावक तथा सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख जनकराज गौतमले विद्यालय स्थापना कालदेखि निरन्तर साथ दिने शिक्षक, अभिभावक, पूर्व विद्यार्थी तथा शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गर्दै समुदायको एकताबद्ध सहयोगकै कारण विद्यालयले आजको प्रगति हासिल गर्न सफल भएको बताउनुभयो। नगरपालिकाबाट शिक्षा क्षेत्र सुदृढिकरणका लागि आवश्यक सहयोग आगामी दिनमा पनि निरन्तर जारी रहने प्रतिबद्धता जाहेर गर्दै उहाँले विद्यालयको यश–प्रतिष्ठा अभिवृद्धिमा सबैको समान योगदान रहनेमा विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमका अन्य वक्ताहरूले विद्यालयप्रति निरन्तर साथ, श्रम, समय र सहयोग प्रदान गर्ने सबै हातहरूलाई धन्यवाद ज्ञापन गर्दै, शिक्षा क्षेत्रको दिगो विकासका लागि सामूहिक प्रयास अत्यावश्यक हुनेमा जोड दिएका थिए।








