कार्तिक २८,बागचौर नगरपालिका वडा नं. ९ स्थित शिशु जागरण माध्यमिक विद्यालयमा नव–निर्मित भवनको भव्य उद्घाटन एक विशिष्ट समारोहका बीच सम्पन्न भएको छ। विद्यालयको पठन–पाठन प्रक्रिया सहज, सुरक्षित र आधुनिक बनाउन निर्माण गरिएको उक्त भवनको उद्घाटन बागचौर नगरपालिका नगर प्रमुख जनकराज गौतमले गर्नुभयो। कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष लोकबहादुर डाँगीको अध्यक्षतामा सम्पन्न भएको थियो।

समारोहमा उप–प्रमुख सुम्निमा डी.सी. वली, वडा नं. ९ का वडा सदस्य कमल डाँगी, विद्यालयका शिक्षक–शिक्षिका, अभिभावक, विद्यार्थी, समाजसेवी तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यालय परिसरमा विद्यार्थीहरूको स्वागत गीत, सांस्कृतिक प्रस्तुति तथा कार्यक्रममा सहभागी स्थानीयहरूको उत्साहले वातावरण झनै उल्लासमय बनेको थियो।

उद्घाटन पश्चात् प्रमुख अतिथि नगर प्रमुख जनकराज गौतमले विद्यालयको पूर्वाधार, सिकाइ–वातावरण र गुणस्तरीय शिक्षा अभिवृद्धिमा स्थानीय सरकार निरन्तर साथमा रहने बताउँदै भने,
“नव–निर्मित भवनले सिकाइमा नयाँ उत्साह भर्नेछ। विद्यालयको भौतिक विकाससँगै सिकाइ–गुणस्तर सुधार हाम्रो मुख्य प्राथमिकता हो। स्थानीय तह, विद्यालय तथा अभिभावकबीचको सहकार्यले मात्रै समृद्ध शैक्षिक भविष्य निर्माण सम्भव हुन्छ।”

कार्यक्रममा विद्यालयको वार्षिक प्रगति, चुनौती र आगामी योजनाबारे समेटिएको सामाजिक परीक्षण (Social Audit) समेत सार्वजनिक गरिएको थियो, जसले विद्यालय व्यवस्थापनमा पारदर्शिता र उत्तरदायित्त्वलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रमको सहजीकरण प्रधानाध्यापक रुपलाल भण्डारीले गर्नुभएको थियो। उहाँले नव–निर्मित भवन सञ्चालनमा आएपछि विज्ञान, प्रविधि तथा व्यावहारिक सिकाइ कक्षाहरू अझ सहज र प्रभावकारी रूपमा सञ्चालन गर्न सकिने बताउनुभयो।

उद्घाटन समारोहपछि विद्यालय तथा अभिभावकबीच शैक्षिक सुधार, विद्यार्थीको शिकाइ उपलब्धि, थप आवश्यक पूर्वाधार निर्माण तथा विद्यालयलाई नमूना बनाउनका उपायहरू विषयमा समेत महत्वपूर्ण छलफल गरिएको थियो।

विद्यालय परिवारले नव–निर्मित भवनले विद्यार्थीसहित स्थानीय समुदायमा गुणस्तरीय र सुरक्षित शिक्षाको पहुँच अझ मजबुत बन्ने आशा व्यक्त गरेको छ।








