२०८२ भाद्र १३, बागचौरमा “शैक्षिक सुधार महाअभियान वर्ष” सुरु

बागचौर नगरपालिकाले शिक्षा सुधारमा नयाँ अध्याय सुरु गरेको छ। शुक्रबार सम्पन्न प्रधानाध्यापक बैठक मार्फत शैक्षिक सुधारको सुरुवाती महाअभियान वर्ष घोषणा गरिएको हो।

बैठक नगर प्रमुख तथा शिक्षा समिति अध्यक्ष जनकराज गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, शिक्षा समिति सदस्य, शिक्षा शाखा प्रमुख, कर्मचारी र पालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकको उपस्थित रहेको थियो ।

“हाम्रो मूल मन्त्र तथा शिक्षा क्षेत्रको दुरदृष्टि – बागचौर नगरपालिकाको प्राथमिकता र प्रतिबद्धता: प्रबिधिमैत्री, जीवनपयोगी र गुणस्तरीय शिक्षामा सबैको ऐक्यबद्धता” – नीति तथा कार्यक्रमअनुसार बागचौर नगरपालिकाले शिक्षा सुधारलाई प्राथमिकता दिएको छ।

प्रमुख उद्देश्य र योजना
-एक कक्षा–एक शिक्षक: जहाँ विद्यार्थी त्यहाँ शिक्षक।
-जीवनपयोगी र प्रविधिमैत्री शिक्षा: परीक्षा मात्र होइन, सीपमूलक शिक्षा।
-छात्रवृत्ति र निशुल्क पोशाक वितरण: विपन्न, अपांग र जेहेन्दार विद्यार्थीका लागि।
-बालमैत्री, अपाङ्गता मैत्री, हरित र स्वच्छ विद्यालय वातावरण।
-सीपमूलक र प्रयोगात्मक शिक्षा: माध्यमिक तहमा परियोजना र प्रयोगात्मक कार्यलाई प्राथमिकता।
-डिजिटल हाजिरी र प्राविधिमैत्री सिकाइ।
-शिक्षक र कर्मचारी क्षमता विकास र अनुगमन।
-विद्यार्थी नेतृत्व क्षमता विकास (रेडक्रस, बाल क्लबमार्फत)।
-परीक्षा सञ्चालन र परिणाम आधारित सम्मान तथा प्रोत्साहन।
नगर प्रमुख जनकराज गौतमले भन्नुभयो:

“शिक्षा नै विकासको आधार हो। गुणस्तरीय शिक्षा सुनिश्चित गर्न हामी प्रतिबद्ध छौं। ‘एक कक्षा, एक शिक्षक’ अवधारणालाई प्रभावकारी बनाउँदै, अभिभावक सचेत गर्न ‘चुले सिकाइ’ कार्यक्रम लागू गर्दै गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने हाम्रो लक्ष्य हो।”
शिक्षा शाखा प्रमुख नरेन्द्र प्रसाद भट्टले भन्नुभयो:
“शिक्षा गुणस्तर वृद्धि, शिक्षक अभिवृत्ति र विद्यार्थी सिकाइ सुधार हाम्रो पहिलो प्राथमिकता हो। यस अभियानमार्फत दिगो शैक्षिक सुधारलाई ठोस कार्ययोजनामा कार्यान्वयन गरिनेछ।”
हाल बागचौरमा ७२ बालविकास केन्द्र, ६८ आधारभूत विद्यालय, १३ माध्यमिक विद्यालय र ६ संस्थागत विद्यालय सञ्चालनमा छन्। नगरपालिकाले यी सबैलाई क्रमशः गुणस्तरीय र नमुना विद्यालयको रूपमा विकास गर्ने लक्ष्य लिएको छ।
बैठकमा सहभागी सबै सरोकारवालाले अभियानमा प्रतिवद्धता जनाउँदै नगरस्तरमा गुणस्तरीय शिक्षालाई जीवन्त बनाउन ऐक्यबद्धता प्रकट गरेका थिए।








