असार, १८ सल्यान ।
कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश शिक्षा विकास निर्देशनालय, वीरेन्द्रनगर सुर्खेतले सल्यान जिल्लाका तीन जना प्रधानाध्यापकलाई जिल्लास्तरको उत्कृष्ट शिक्षक घोषणा गर्दै सम्मान गरेको छ।
शिक्षा क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानको कदरस्वरूप उनीहरूलाई नगद ३५ हजार रुपैयाँसहित प्रशंसा पत्र प्रदान गरिएको हो। सम्मानित हुनेमा शारदा नगरपालिका–१ स्थित शिव माध्यमिक विद्यालयका प्रधानाध्यापक जीवनी रावत, सिद्धकुमाख गाउँपालिका–३ ढोरचौरस्थित निराजन माध्यमिक विद्यालयका प्रधानाध्यापक धर्मराज घर्ती, र छत्रेश्वरी गाउँपालिका–५ स्थित कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक बालाराम ओली रहेका छन्।
सम्मान समारोहमा सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले शिक्षकहरूको योगदानको प्रशंसा गर्दै यस्तो सम्मानले शिक्षण पेशाको गरिमा बढाउने र शैक्षिक गुणस्तर अभिवृद्धिमा टेवा पुर्याउने विश्वास व्यक्त गरे।
कार्यक्रममा मन्त्रालयका सचिव अर्जुन गौतम, प्रदेश शिक्षा विकास निर्देशनालयकी निमित्त निर्देशक दीपा हमाललगायतको उपस्थिति रहेको थियो। यस वर्ष कर्णाली प्रदेशभरिबाट ३० जना उत्कृष्ट शिक्षकहरू छनोट गरी सम्मान गरिएको छ।








