सल्यान,
सल्यानको बागचौर नगरपालिका-७ कोटबारा पयाचौर ७० वर्षीय टिकाराम वलीको निधन भएको छ।
बिहीबार दिउँसो जिल्ला प्रशासन कार्यालय सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन आएका वली कार्यालय परिसरमै लडेर घाइते भएका थिए। उनको टाउकोमा चोट लागेपछि उपचारका लागि जिल्ला अस्पताल सल्यान लगिएको थियो।
घटना गम्भीर भएपछि उनका भान्जा मस्त बहादुर भण्डारीको रोहवरमा उनलाई उपचारका लागि सल्यान अस्पताल लगिएको प्रहरीले जनायो । घटना पछि जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी निरीक्षक रेशम बहादुर खत्रीको कमान्डमा पाँच जनाको टोली खटिएको थियो।
राष्ट्रिय परिचय पत्र बनाउन जिल्ला प्रशासन पुगेका सेवाग्राही वली बहिरबाट कार्यालयको ढोकामा पुगेर ढलेको सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले बताएका छन ।
उनले भनेः ” हामीले सिसटिभि हेर्यौ, बाहिरबाट ढोकामा पुगेर अडिन खोज्नुभयो चक्कर लाग्यो होला लडेपछि टाउकोमा चोट लागेको थियो, अस्पताल लिएपछि निधनको खबर आयो, यो दुःखद भयो ।”
उपचारकै क्रममा दिउँसो सल्यान अस्पतालले वलीलाई मृत घोषणा गरेको थियो।
अहिले मृतकको शव जिल्ला अस्पतालमै राखिएको छ।








