प्रतिनिधि सभा विघटनपछि सत्ता र सडकमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तानातानमा नेपाली काँग्रेस परेको छ । सत्ताको नेतृत्व गरिरहेको केपी शर्मा ओली समूह र सडक सङ्घर्षमा रहेको पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल पक्षले काँग्रेससँग सहयात्रा–सहकार्यका लागि हात फिँजाइरहेका छन् । काँग्रेसलाई सहयात्रा–सहकार्यको निम्तोसहित ओली र प्रचण्ड–नेपाल समूह काँग्रेसभित्रका शक्तिकेन्द्र धाइरहेको देखिन्छ ।

पार्टीमा अन्तरविरोध देखिएसँगै काँग्रेससँग सम्बन्ध विस्तारमा जुटेका नेकपाका दुई समूह यतिबेला बूढानीलकण्ठ र बोहोराटार धाउन व्यस्त छ ।
प्रतिनिधिसभा विघटनले नेकपामा निम्त्याएको विभाजनबाट केन्द्रदेखि प्रदेशसम्मको राजनीतिक मोर्चामा काँग्रेस निर्णायक देखिएपछि ओली र प्रचण्ड–नेपालले सहकार्यका लागि जोड दिएको हो ।
आफूहरुसँग आक्रमक देखिएको काँग्रेसी कित्तालाई मनाउन ओली र प्रचण्ड–नेपाल पक्षले भेटघाट बढाएको बुझिएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवा ओलीसँग नजिकेको छनक पाएपछि २९ पुसमा नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय प्रचण्ड र नेपालले देउवा निवास बूढानीलकण्ठ पुगेका थिए ।
उनीहरु प्रतिनिधि सभा पुनः स्थापित हुँदा र नहुँदा आइपर्ने जुनसुकै परिस्थितिका लागि सहकार्यको प्रस्ताव लिएर देउवासामु पुगेका थिए ।