असोज २२ गते, बिहीबार सल्यान, थारमारे —
चाडपर्वको समयमा यात्रुको चाप बढेसँगै सुरक्षित तथा सहज यात्राको वातावरण बनाउन सल्यानको थारमारेमा ट्राफिक प्रहरीद्वारा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै स्थापना गरिएको सहायता कक्षबाट यात्रु तथा सवारी चालकलाई आवश्यक सूचना, सहजीकरण तथा सुरक्षासम्बन्धी सहयोग उपलब्ध गराइनेछ। चाडपर्वका बेला सवारीसाधनको चाप बढ्ने र यात्रुहरूलाई विभिन्न समस्या पर्न सक्ने भएकाले सहायता कक्ष प्रभावकारी हुने अपेक्षा गरिएको छ। सम्बन्धित निकायले सवारी नियम पालना गर्न, क्षमताभन्दा बढी यात्रु नबोक्न र सुरक्षित रूपमा यात्रा गर्न यात्रु तथा चालकलाई ट्राफिक प्रहरीले आग्रह गरेको छ।

यात्रीसहितको चेकिङ स्थापना गर्नुको मुख्य उद्देश्य तथा यसबाट हुने फाइदाका विषयमा समेत इलाका प्रहरी कार्यालय थारमारेका प्रहरी सहायक निरीक्षक भीमबहादुर केसीले जानकारी गराउनुभएको थियो।

ट्राफिक प्रहरी जवान सुभास विकले यात्राका क्रममा कुनै समस्या परेमा सार्वजनिक गरिएको सम्पर्क नम्बरमा सिधै फोन गरी जानकारी गराउन सकिने बताउनुभएको थियो।

चाडपर्वको समयमा तोकिएकोभन्दा बढी भाडा असुल्ने तथा सवारी साधनको क्षमताभन्दा बढी यात्रु राख्ने चालक तथा सहचालकमाथि कडाभन्दा कडा कानुनी कारबाही गरिने ट्राफिक प्रहरीले चेतावनी दिएका छन्। साथै, यात्रुलाई समेत तोकिएको भाडा तिरेर सुरक्षित यात्रा गर्न र कुनै समस्या परेमा तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरिएको छ।









