सल्यान पुष १६
सिद्ध कुमाख गाउँपालिका वास (WASH) इकाइद्वारा आयोजना गरिएको पानी परीक्षण शिविरअन्तर्गत गाउँपालिकाभित्र सञ्चालनमा रहेका ३४ वटा खानेपानी योजनाका विभिन्न संरचनाहरू—इन्टेक, आरभीटी (RVT) तथा धाराबाट पानीका नमुना संकलन गरी परीक्षण गरिएको छ।
शिविरका क्रममा संकलित पानीका नमुनाहरूको प्रयोगशालामार्फत परीक्षण गरिएको थियो। हालसम्म प्राप्त परीक्षण नतिजाको प्रारम्भिक प्रतिवेदनअनुसार सिद्ध कुमाख गाउँपालिकाभित्रका खानेपानी स्रोतहरूको पानी नेपाल खानेपानी गुणस्तर मापदण्ड, २०७९ अनुसार पिउन योग्य रहेको पाइएको छ। यसले गाउँपालिकाका नागरिकहरूलाई हाल उपभोग गरिँदै आएको पानी गुणस्तरीय र सुरक्षित रहेको संकेत गरेको छ।
खानेपानीको स्वच्छता, सुरक्षा तथा गुणस्तर सुनिश्चित गर्ने उद्देश्यले आयोजना गरिएको उक्त परीक्षण शिविरले स्थानीय तहमा स्वास्थ्य जोखिम न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। वास इकाइले समय–समयमा यस्ता परीक्षण कार्यक्रमलाई निरन्तरता दिँदै खानेपानी संरचनाहरूको निगरानी, संरक्षण तथा सुधारमा जोड दिइने जनाएको छ।
यस कार्यक्रमबाट स्थानीय बासिन्दामा स्वच्छ खानेपानीको महत्त्वबारे सचेतना वृद्धि हुनुका साथै, खानेपानी योजनाहरूलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।








