२०८२ मंसिर २६

बागचौर नगरपालिका वडा नं. १२ मा १ करोड ७८ लाख ५० हजार लागतमा निर्माण सम्पन्न रमखोला खानेपानी तथा सरसफाइ आयोजना एक विशेष समारोहका बीच आज नगर प्रमुख जनकराज गौतमले उद्घाटन गर्नुभयो।

समारोहमा उप–प्रमुख सुम्निमा डी.सी वली, वडा अध्यक्ष टिकाराम वली, कार्यपालिका सदस्य रेखा कुमारी डाँगी, वडा सदस्य, सुस्वा इकाई प्रमुख बिरेन्द्र जोशी, प्राविधिक कर्मचारी, उपभोक्ता समिति तथा स्थानीयबासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

आयोजना सञ्चालनमा आएसँगै वडा नं. १२ का १६९ घरधुरी र एक सामुदायिक विद्यालय प्रत्यक्ष रूपमा शुद्ध, सुरक्षित र नियमित खानेपानी सेवाबाट लाभान्वित हुने भएका छन्। परियोजनाले खानेपानीको पहुँच विस्तारसँगै स्थानीय बासिन्दाको स्वास्थ्य, स्वच्छता र समग्र जीवनस्तरमा दीर्घकालीन सुधार ल्याउने अपेक्षा गरिएको छ।

नेपाल सरकार, फिनल्यान्ड सरकार, युरोपियन युनियन र बागचौर नगरपालिकाको संयुक्त लगानीमा सम्पन्न यस आयोजनाले सुरक्षित खानेपानी, सरसफाइ सुधार र दिगो स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउने उद्देश्य राखेको छ ।

उक्त अवसरमा आयोजना क्षेत्रभित्रका सबै सरसफाइ सूचक पूरा गरेका ११ वटा टोललाई ‘पूर्ण सरसफाइ उन्मुख टोल’ घोषणा गरिएको छ। यसले वडा नं. १२ लाई नगरकै स्वच्छता र स्वास्थ्यको नमूना वडाको रूपमा स्थापित गरेको छ ।

उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख जनकराज गौतमले भन्नुभयो—
“वडा नं. १२ को वर्षौँदेखिको खानेपानी समस्या अन्त्य भएको ऐतिहासिक दिन हो। अब सबै घरधुरीले शुद्ध र सुरक्षित पानी पाउनेछन्। पूर्ण सरसफाइमा ११ टोलको उल्लेखनीय प्रगति नमूनात्मक छ, र नगरपालिका यस्ता दिगो विकासका कामलाई निरन्तर अघि बढाउँदै जानेछ।”

उपभोक्ता समिति तथा स्थानीयबासीहरूले नगर कार्यपालिका र सबै सहयोगी निकायप्रति आभार व्यक्त गर्दै-
“वर्षौँदेखिको हाम्रो समस्या अन्ततः समाधान भयो। अब सुरक्षित पानी र स्वच्छ वातावरणको सुविधा पाउनेछौँ। सरसफाइ अभियानमा हामी निरन्तर सहकार्य गर्दै जानेछौँ।”

आयोजना सम्पन्न गर्न, पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गराउन तथा संरचना निर्माणका लागि जग्गा उपलब्ध गराएर सहयोग गर्ने व्यक्तिहरूलाई कार्यक्रममा सम्मान तथा प्रशंसा पत्र प्रदान गरिएको थियो।