सल्यान मंसिर २०
बागचौर नगरपालिका–८ कोटमौलामा सुन्तलामा देखिएको रोग तीव्र रूपमा फैलिँदै जाँदा किसानहरू अत्यन्त निराश बनेका छन्। वर्षौंदेखि सुन्तला खेतीलाई मुख्य आम्दानीको स्रोत बनाउँदै आएका स्थानीय किसान यस वर्ष पात पहेँलो हुने, हाँगा सुक्ने र फल ढल्ने समस्या बढेपछि चिन्तित छन्।

रोग नलागेको सुन्तला

गाउँका किसान भरतनाथ योगीका अनुसार रोग सुरु भएको केही सातामै बगैँचाको रूपै बद्लियो।
“बोटहरू हरियाली देखिनु पर्ने बेला पात पहेँलो भएर झर्दै गए। केही बोट त पुरै सुक्ने अवस्थामा छन्,” उनले भने, “यति धेरै क्षति त पहिले कहिल्यै देखिएको थिएन।”

रोग लागेको सुन्तला

त्यसबेलै अर्का किसान यज्ञबहादुर चन्दले पनि सुन्तला गिरावटले परिवारको आम्दानीमा ठुलो असर परेको बताए।
“हामी वर्षभर यही फलले घरखर्च चलाउँछौं। अब बोटमै रोग लागेपछि आय शून्य जस्तै भयो,” चन्दले भावुक हुँदै भने, “सरकारले तुरुन्तै केही नगरे यो क्षेत्रमा सुन्तला खेती धराशायी हुन्छ।”

स्थानीयहरूका अनुसार रोग ‘साइट्रस ग्रीङ्ग’, ‘ट्रिस्टेजा’ वा फंगल संक्रमणमध्ये केही हुनसक्ने संकेत देखिए पनि प्राविधिक परीक्षण नहुँदै निश्चित भन्न सकिने अवस्था छैन। किसानहरूले आफ्नै प्रयासमा औषधि छर्किए पनि प्रभाव नदेखिएपछि उनीहरू अझै हतास बनेका छन्।

कृषि बिकाश कार्यलय सल्यानले भने कोटमौलाको अवस्थाबारे विवरण संकलन भइरहेको र प्राविधिक टोली परिचालनको तयारी भइरहेको जनाएको छ। विशेषज्ञहरूको सुझावअनुसार रोग लागेको हाँगा काट्ने, जैविक कीटनाशक छर्कने, माटो परीक्षण गरी पोषण व्यवस्थापन मिलाउने कार्य तत्कालै सुरु गर्न जरुरी छ।

सुन्तला खेतीमै भर पर्ने कोटमौलाका किसानहरूले समयमै सहायतामूलक कार्यक्रम र प्रविधिक हस्तक्षेप नभए आगामी वर्ष झन् ठूलो क्षति हुने चेतावनी दिएका छन्। गाउँभरि फैलिरहेको रोगले यस वर्षको उत्पादन मात्र होइन, आगामी वर्षको बगैँचाको भविष्यसमेत जोखिममा परेको देखिन्छ।