१३ मंसिर । नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभागको आयोजना, राप्ती साहित्य परिषद् जिल्ला शाखा सल्यान को सहआयोजना तथा बागचौर नगरपालिका को सहयोगमा बागचौरमा पहिलो पटक कर्णाली प्रदेशस्तरीय प्रज्ञा–नारी काव्य सङ्गोष्ठी सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता राप्ती साहित्य परिषद् जिल्ला शाखा सल्यानका अध्यक्ष इन्द्र भण्डारी ‘अङ्कित’ ले गर्नुभएको थियो। कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठान का कुलपति भूपाल राई प्रमुख अतिथि रहनुभएको थियो भने बागचौर नगरपालिकाका प्रमुख जनकराज गौतम मुख्य अतिथि तथा उप–प्रमुख सुम्निमा डि.सी. वली, निवर्तमान नगर प्रमुख लोकमान बुढाथोकी, नगर प्रवक्ता दिपेश डि.सी विशिष्ट अतिथि रहनुभएको थियो।

सङ्गोष्ठीमा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्दै आएका नारी स्रष्टाहरूले आफ्ना उत्कृष्ट काव्य–रचनाहरू प्रस्तुत गरेका थिए।कार्यक्रममा प्रमुख अतिथि कुलपति भूपाल राई र नगरप्रमुख जनकराज गौतमले नारी सृजनशीलता र साहित्यिक यात्राको महत्वबारे प्रकाश पार्दै शुभकामना व्यक्त गर्नुभयो। त्यस्तै, काव्य विभाग प्रमुख प्राज्ञ बाबा बस्नेत ले सङ्गोष्ठी आयोजना गर्नुको उद्देश्य र आवश्यकताबारे विस्तृत व्याख्या गर्नुभएको थियो।
सङ्गोष्ठीमा भाषाविद् तथा भाषा आयोग नेपालका पूर्वसदस्य उषा हमाल द्वारा तयार पारिएको ‘काव्यमा कर्णालीका नारी हस्ताक्षर’ शीर्षक कार्यपत्र अत्यन्त प्रभावशाली रहेको थियो, जसलाई सन्ध्या पहाडी ले प्रस्तुत गर्नुभएको थियो। उक्त कार्यपत्रमाथि कोकिला सिंह ठकुरी ले समीक्षा–टिप्पणी प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रम सुरु हुनुअघि नेपाली परम्परागत पहिरनमा सजिएका पाँचकन्या तथा स्थानीय आमा समूहका दिदीबहिनीहरूले पञ्चेबाजा सहित बागचौर बजार परिक्रमा गरेपछि कार्यक्रमको वातावरण झनै भव्य बनेको थियो।
राप्ती साहित्य परिषद् जिल्ला शाखा सल्यानका सचिव नोखिराम थापाको स्वागत मन्तव्यबाट कार्यक्रम प्रारम्भ भएको थियो भने सहजीकरण उपाध्यक्ष तारादेव शर्मा ‘प्रदर्शन’ ले गर्नुभएको थियो।








