सल्यान, कात्तिक १८
बागचौर नगरपालिका–१० मा काग्तिक १९ गते पुर्णिामा लाग्दै आएको परम्परागत मोख्ला मेलामा कुनै पनि समिति, व्यक्ति वा समूहले कर तथा शुल्क उठाउन नपाउने भएको छ।
नगरपालिकाको २०८२ साल कात्तिक १८ गतेको निर्णयअनुसार मेलासँग सम्बन्धित कुनै पनि प्रकृतिको कर, शुल्क वा चन्दा असुल नगर्न र नगरवासीलाई जानकारीका लागि सूचना सार्वजनिक गरिएको हो।
नगर प्रमुख जनकराज गौतमका अनुसार साना तिना व्यापारीहरूलाई यो निर्णयले केही हतसम्म सहयोग पुग्ने देखिएको छ। उहाँले भन्नुभयो,
“केवल कर संकलन गरेर मात्र होइन, त्यसको सही सदुपयोग गर्न नसक्दा व्यापारीहरू मर्कामा पर्ने गरेका छन्। त्यसैले मेलालाई निष्पक्ष, व्यवस्थित र सबैका लागि सहज बनाउन यो कदम आवश्यक छ।”
मोख्ला मेलामा ठूला व्यवसाय वा व्यापार हुँदैनन्। तर तरुल, गन्जी, बदाम, चाउमिन, चना, अण्डा र जेरिजस्ता साना परिकार बेचेर दैनिकी चलाउने साना व्यापारीहरूका लागि यो निर्णयले थप चुनौती निम्त्याउने अनुमान गरिएको छ।
नगर प्रशासन शाखाका प्रमुख पूर्ण बहादुर वलीद्वारा हस्ताक्षरित सूचनामा मेलाका नाममा कर, शुल्क वा चन्दा असुल गर्ने कार्य कानुन विपरीत हुने र त्यस्तो कार्यमा संलग्न व्यक्तिमाथि कानुनी कारबाही गरिने उल्लेख गरिएको छ।








