१८ कार्तिक २०८०

भूकम्पका कारण घाइते भएकाको उपचार गर्न स्वास्थ्य सेवा कार्यालय सल्यानले जिल्ला अस्पताल सल्यानका डाक्टरसहित स्वास्थ्यकर्मीको टिम शनिबार बिहान १० बजे औषधिसहित जाजरकोट पठाएको छ ।

घाइतेलाई सहज रूपमा उपचार गर्न तथा डाक्टर र स्वास्थ्यकर्मीको अभाव हुन नदिन अस्पतालको डाक्टर र स्वास्थ्यकर्मीको टिम जाजरकोट पठाएको हो ।जिल्ला अस्पताल सल्यानबाट दुई डाक्टर, दुई स्टाफ नर्स र एक प्यारामेडिक्सलाई जाजरकोट पठाइएको स्वास्थ्य सेवा कार्यालय सल्यानका व्यवस्थापन तथा प्रमुख डा. अर्जुन बुढा मगरले बताए । डाक्टर तथा स्वास्थ्यकर्मीको टिमले आजैदेखि जाजरकोट पुगेर भूकम्पमा घाइते भएकाहरूको उपचारमा जुट्ने उनले जानकारी गराए ।

भूकम्पबाट घाइते भएकाहरूको उद्धारका लागि तत्काल चाहिने सामग्रीलगायत औषधिसमेत पठाएको व्यवस्थापक तथा प्रुमख डा. बढामगरले जानकारी गराए । उनका अनुसार जिल्ला अस्पतालका डाक्टर र स्वास्थ्यकर्मी केही दिन बसेर जाजरकोटबाटै सेवा दिनेछन् ।

‘भूकम्पका कारण धेरै घाइते भएका छन् । जाजरकोटको डाक्टर तथा स्वास्थ्यकर्मीको टिम अपर्याप्त हुन सक्छ । जाजरकोटका अस्पतालका डाक्टर, स्वास्थ्यकर्मीलाई सहज होस र भार पनि कम परोस र घाइतेले सहज रूपमा उपचार पाओस् भनेर अस्पतालबाट टिम पठाएका हौँ,’ उनले भने ।