२५ असार २०८०, सोमवार

चान्द्रमास अनुसार पहिलो साउने सोमबारको ब्रत असार २५ गते सोमबार देखि सुरु भएको छ ।

सौरमास अनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ । चान्द्रमास अनुसार दुईवटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ । समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा।डा। देवमणि भट्टराई गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमबार ब्रत लिनुपर्ने कुरा निर्णय सिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको बताउनुभयो ।धर्मशास्त्रका विज्ञबीच यस वर्षको अधिकमासको साउनमा परेको सोमबार व्रत गर्ने कि नगर्ने भन्नेमा मतान्तर देखिएको छ । नेपालमा सौरमास अनुसारका सोमबार नै ब्रत गर्ने परम्परा रहेको समितिको पूर्व अध्यक्षसमेत रहेका धर्मशास्त्रविद् प्रा।डा। रामचन्द्र गौतम बताउनुभयो ।

पशुपतिनाथ मन्दिरमा भने चान्द्रमास अनुसार साउन लागेदेखि नै भक्तजनको भीड बढ्न थालेको छ । साउने सोमबारका लागि सबै तयारी गरिएको कोषका कार्यकारी निर्देशक डा। घनश्याम खतिवडाले जानकारी दिनुभयो । साउनको शनिबार र सोमबार पशुपतिनाथ मन्दिरमा हजारौँ भक्तजनको भीड लाग्ने गर्छ ।

चान्द्रमास अनुसारको पहिलो शनिबार पनि पशुपतिनाथको दर्शनमा लाखभन्दा बढी नै भक्तजन आएको कोष संस्कृति संरक्षण महाशाखाका निमित्त निर्देशक गौरीशङ्कर पराजुलीले बताउनुभयो । साउनमा अधिकमास परे पनि नित्य रुपमा साउन महिनामा दर्शन गर्न आउने भक्तजनका लागि पूजा, आराधना र दर्शन गर्ने व्यवस्था मिलाइएको पनि कार्यकारी निर्देशक खतिवडाले बताउनुभयो ।

चान्द्रमास अनुसार साउन महिना लागेदेखि नै विशेष गरी भारतीय मूलका भक्तजनको भीड लागेको जनाइएको छ । साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोल बम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्छ ।