सोमबार, फाल्गुन १५, २०७९

गत असोज १४ गते कुमाख गाउँपालिका–७ जिमालीका दीपेन्द्र शाहीको रा ५ प २२२ नम्बरको मोटरसाइकल हरायो । शारदा नगरपालिका–१ श्रीनगरमा घरमै पार्किङ गरेर राखेको मोटरसाइकल राति साढे ९ बजेतिर हराएको थियो । विभिन्न क्षेत्रमा खोजबिन गर्दा पनि अझै मोटरसाइकल भेटिएको छैन ।

मंसिर १९ गते बागचौर नगरपालिका–८ का प्रकाश परियारको रा ४ प ९१८ नम्बरको मोटरसाइकल हरायो । श्रीनगरमा आफ्नै पसल अगाडि पार्किङ गरेर राखेको मोटरसाइकल राति २ बजे हराएको थियो । तर मोटरसाइकल हराएको झण्डै तीन महिना हुँदा पनि अझै भेटिएको छैन ।

फागुन ३ गते शारदा नगरपालिका–१ श्रीनगरका गोविन्द बस्यालको रा ३ प ९७५० नम्बरको मोटरसाइकल हरायो । श्रीनगरमै पार्किङ गरेर राखेको मोटरसाइकल राति साढे ८ बजेतिर हराएको थियो । यो मोटरसाइकलको अवस्था पनि अझै अज्ञात छ ।

सल्यानमा बढ्दो मोटरसाइकल चोरीका उदाहरण हुन् यी घटना । यी मात्र होइन, सल्यानमा अचेल हप्तैपिच्छेजस्तो मोटरसाइकल चोरी भइरहेका छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र श्रीनगर तथा खलंगा, थारमारेलगायतका स्थानबाट मोटरसाइकल हराउने क्रम बढेपछि सर्वसाधारण चिन्तित छन् ।

पछिल्लो समय बजार क्षेत्रभित्र पार्किङस्थल, घर, सार्वजनिक स्थललगायतका स्थानबाटै मोटरसाइकल चोरी हुन थालेका छन् । घरबाटै मोटरसाइकल चोरी भएका शाहीले बीच बजारबाटै मोटरसाइकल हराउनुले सुरक्षा कमजोर भएको अनुमान गर्न सकिने बताउनुभयो । ‘घरको पार्किङमा राखेका तीनवटा मोटरसाइकलमध्ये ह्यान्डल लक गरेर राखेको मेरो मोटरसाइकल हरायो’– उहाँले भन्नुभयो– ‘अब कसलाई दोष दिने ? कमजोर शान्ति सुरक्षाकै कारण चोरको मनोबल बढेको देखिन्छ ।’

हराएको मोटरसाइकलको खोजबिन भइरहेको प्रहरीले बताए पनि प्रभावकारी अनुसन्धान नभएको उहाँको भनाइ छ । ‘सिसि क्यामरा फुटेजमा नै मोटरसाइकल चोरले लिएको देखिन्छ, त्यो बेलामा नै मैले प्रहरीलाई मोटरसाइकल हराएकाले खोजी गरिदिन निवेदन दिएको थिएँ तर अहिलेसम्म अत्तोपत्तो छैन’– उहाँले भन्नुभयो– ‘अहिले पनि मोटरसाइकल चोरी हुने क्रम रोकिएको छैन । अनुसन्धान प्रभावकारी भएन कि भन्ने लागेको छ ।’

अर्का मोटरसाइकल धनी परियारले चौविसै घण्टा जाँचको व्यवस्था नहँुदा मोटरसाइकल चोरलाई सजिलो भएको बताउनुभएको छ ।

‘जिल्लाकै प्रमुख व्यापारिक केन्द्रमा सुरक्षित छैन, बजारमा सिसि क्यामरा छन्, काम गर्दैनन्, जसले चोरलाई सजिलो भएको छ’– उहाँले भन्नुभयो । रातमा पनि जाँच र जिल्लाका प्रमुख बजार तथा मुख्य चोकहरुमा पर्याप्त सिसि क्यामरा भए चोरी कम हुने उहाँको भनाइ छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार यस वर्षको हालसम्म जिल्लामा ११ वटा मोटरसाइकल हराएका छन् । यो प्रहरीसँगको तथ्यांक हो तर केही अपडेट गर्नुपर्ने भएकाले १३ वटा मोटरसाइकल हराएको प्रहरीको भनाइ छ । पछिल्लो समय जिल्लामा दुईपांग्रे सवारीसाधन हराउने क्रम बढेको देखिन्छ ।

प्रहरीका अनुसार यसै वर्ष हराएका मोटरसाइकलमध्ये तीनवटा मोटरसाइकल मात्रै फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी, प्रहरी निरीक्षक सन्तोष खनालले चोरी भएका दुईपांग्रे सवारीसाधनको खोजी कार्य भइरहेको बताउनुभएको छ । उहाँले भन्नुभयो– ‘हामीले अनुसन्धान गरिरहेका छौं, बजारमा पर्याप्त मात्रामा सिसि क्यामेरा भए सजिलो हुन्थ्यो, चोरीमा सहयोग गर्ने एकजनालाई पक्राउ गरेका छौं, अरुको अनुसन्धान जारी छ ।’

दाङसहित तराईका जिल्लाबाट चोरी भएका मोटरसाइकल सल्यानमा ल्याउने गरेको भए पनि यहाँबाट चोरी भएका अधिकांश मोटरसाइकल जिल्ला बाहिर जाने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उहाँको भनाइ छ । मोटरसाइकल विशेषगरी छिमेकी जिल्ला रुकुम, रोल्पा, जाजरकोट हँुदै डोल्पासम्म पुग्ने गरेका छन् । प्रहरीले जिल्लाबाट सबैभन्दा धेरै दुई सय २० सिसी र एक सय ५० सिसीका पल्सर मोटरसाइकल हराएको जनाएको छ । हराएर भेटिएका कतिपय मोटरसाइकल भने त्यसका धनी लिन आउने गरेका छैनन् । अहिले वेवारिसे अवस्थामा भेटिएका लु ७८ प ८८३१, रा ४ प ५०९६ र रा ६ प ५३८८ नम्बरका मोटरसाइकल प्रहरी कार्यालयमा छन् तर सवारीधनी पत्ता लागेका छैनन् ।