सल्यानको बागचौर नगरपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह गर्ने तयारी गरेको छ । भवन निर्माण भएको झण्डै चार वर्षपछि नगरपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह गर्ने तयारी गरेको हो ।
आफ्नै भवन नहुँदा घरभाडामा लिएर सेवा प्रवाह गर्दै आएको नगरले पछि भवन निर्माण हुँदा पनि आफ्नै भवनबाट सेवा प्रवाह गर्न सकेको थिएन । घरभाडामा लिएर सेवा प्रवाह गर्दै आएको नगरपालिकाले घरभाडा वापत ४८ हजार पाँच सय १० रुपैया तिर्दै आएको छ । नगरपालिका आफ्नै भवनमा सरेपछि घरभाडा वापतको रकम बचत हुने नगरपालिकाले जनाएको छ । नगरप्रमुख जनकराज गौतमले विगतमा विविध समस्याका कारण आफ्नै भवनमा सर्न नसकिए पनि अहिले ती समस्याको समाधान भएकाले आफ्नै भवनबाट सेवा प्रवाह गर्न लागिएको जानकारी दिनुभयो ।
‘विगतमा नगरपालिकाको भवनको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो, कोरोना महामारीको बेला भवनमा आइसोलेसन निर्माण गरिएको थियो, ती समस्याका कारण आफ्नै भवनमा सर्न समस्या भएको थियो’– उहाँले भन्नुभयो– ‘अहिले अख्तियारमा परेको उजुरीको किनारा लागेको छ, अन्य समस्याहरु पनि समाधान भएका छन्, हामी निर्वाचित भएपछि आफ्नै भवनबाट सेवाप्रवाह गर्ने अठोट लिएका थियौं, अहिले सफल हँुदैछौं ।’
नगरप्रमुख गौतमले अब आफ्नै भवनमा सरेपछि नगरपालिकाको सेवा प्रवाहमा थप सहजता आउने बताउनुभयो । भवन निर्माणका लागि बहुवर्षे ठेक्का अन्तर्गत २०७४ असार २७ गते नगरपालिकाले प्रकृति निर्माण प्रालिसँग भ्याट बाहेक ३ करोड २९ लाखमा सम्झौता गरेको थियो । भवन निर्माणको काम २०७५ चैतमा सम्पन्न भएको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तकुमार गौतमले नगरपालिका आफ्नै भवनमा सरेपछि घरभाडा वापतको रकम बचत हुने बताउनुभयो । उहाँले नयाँ भवनमा रहेका कोठा केही अपर्याप्त देखिए पनि कोठाहरुको पार्टेशन गरेर सेवाप्रवाह गरिने बताउनुभयो । ‘अहिले एक तले भवन भएकाले कोठा व्यवस्थापनमा केही समस्या देखिए पनि तला थप गर्नको लागि पहल गरेका छौं, त्यो काम पूरा भएमा हामीलाई पर्याप्त हुन्छ’– उहाँले भन्नुभयो ।
अहिले नगरका अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरेर कार्यालय सार्ने काम भइरहेको उहाँको भनाइ छ । ‘कार्यालय व्यवस्थापन तथा सामग्री स्थानान्तरणमा कर्मचारी खट्नुपर्ने भएकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेर हामीले बुधबार, बिहीबार र शुक्रवार कार्यालय व्यवस्थापन गर्दैछांै, आफ्नै भवनबाट सेवा प्रवाह गर्दा सेवालाई थप स्तरीय र प्रभावकारी बनाउनेछौं’– उहाँले भन्नुभयो ।
नगरपालिकाको भवन निर्माणका लागि स्थानीयले बागचौर नगरपालिका वडा नम्बर २ बागचौरमा जग्गादान गरेका थिए । भवन निर्माणका लागि जग्गा दान गर्ने ३३ जना जग्गादाता र २३ जना नगद चन्दादातालाई सम्मान गर्ने नगरपालिकाले जनाएको छ ।