१ भदौ २०७९, बुधवार

पानी सोचेर एसिडले मुख धुँदा रोल्पाका एक जना सल्यानमा  घाइते भएका छन्।

एसिडले मुख धुदा राेल्पाकाे रुन्टीगढी गाउँपालिका वडा नं. -३ का ५३ वर्षीय वीरबहादुर घर्ती घाइते भएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

घर्ती विगत ६ महिनादेखि सल्यानको कुमाख गाउँपालिका वडा नं। ३ मा बसि गंगा रेजिन एण्ड टपअप खोटो संकलन कम्पनीमा काम गर्दै आएकोमा खोटो संकलनका लागि राखिएको एसिडले बुधबार दिउसो मदिरा सेवन गरेका घर्तीले पानी सोचेर ५ लिटरको ग्यालिनको एसिड खन्याएर मुख धोएपछि एसिडले जलेर घाउ बन्दा घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी नायव उपरीक्षक समित खड्काले बताए।

घटनाको खबर पाएपछि अस्थायी प्रहरी पोष्ट नेटाबाट प्रहरी सहायक निरीक्षक जनकबहादुर भाटको नेतृत्वमा दुई जना प्रहरी घटनास्थल पुगेर तीन लिटर एसिड सहितको ग्यालिन बरामद गरि घाइतेलाई उपचारका लागि रूकुम पश्चिमको जिल्ला अस्पताल चौरजहारीतर्फ पठाइएको प्रहरी नायव उपरीक्षक खड्काले बताए।

घटना बारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रागेचौरबाट प्रहरी नायब निरीक्षक ऋषिराम दाहालको नेतृत्वमा थप पाँच जना प्रहरी परिचालन भई घटनास्थलमा पुगेर थप अनुन्धान गरिरहेको र पछिल्लो समय जिल्लामा एसिड जन्य घटना दैनिकजसो हुन थालेपछि विभिन्न ठाउँमा राखिएका एसिड नियन्त्रण र नष्ट गर्ने अभियान सञ्चालन गरिएको प्रहरी नायव खड्काले बताए।