सल्यान साउन १५— बागचौर नगरपालिका–७ स्थित कोटवारा स्वास्थ्य चौकीमा साउन ३१ गते निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा शिविर सञ्चालन हुने भएको छ। ग्रामीण क्षेत्रका नागरिकलाई गाउँमै विशेषज्ञ उपचार सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो।
ओसिसारा स्वास्थ्य परामर्श, बुटवल र नोभा केयर फिजियोथेरापी एण्ड रिह्याब सेन्टर, लमही–५ दाङको प्राविधिक सहयोग, कोटवारा स्वास्थ्य चौकीको आयोजना तथा बागचौर–७ वडा कार्यालयको समन्वयमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म शिविर सञ्चालन हुनेछ।
शिविरमा वरिष्ठ हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. राजकृष्ण श्रेष्ठ, अटिजम विशेषज्ञ डा. रघुनन्दन सालाग्राम, मस्कुलोस्केलेटल फिजियोथेरापिस्ट डा. रोशनकुमार बि.क. तथा न्युरो फिजियोथेरापिस्ट डा. कमला चौधरीले सेवा प्रदान गर्नेछन्। आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिने जनाइएको छ।
हाडजोर्नी, नसासम्बन्धी, मांसपेशी, पक्षघात (लकवा) तथा बालबालिकामा देखिने अटिजमसम्बन्धी समस्या भएका नागरिकलाई शिविरमा उपस्थित भई विशेषज्ञ सेवा लिन स्वास्थ्य चौकीले आग्रह गरेको छ।