सल्यान बैशाख ८। बागचौर नगरपालिकामा अपाङ्गता र समावेशीकरणका सवाल विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

बागचौर नगरपालिकाको आयोजना, फेल्म नेपालको आर्थिक सहयोग तथा मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सीएमसी) नेपालद्वारा सञ्चालित अपाङ्गता भएका व्यक्तिहरुको समावेशी तथा पहुँचयुक्त सशक्तीकरण कार्यक्रम अन्तर्गत अन्तरक्रिया सम्पन्न भएको हो।

कार्यक्रममा सहभागीहरूले अपाङ्गताको विषयलाई आगामी नीति, कार्यक्रम तथा बजेटमा प्राथमिकता दिनुपर्ने तथा आवश्यक नीतिगत सुधारमा जोड दिनुपर्ने धारणा व्यक्त गरेका थिए।

अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख जनक राज गौतम, उपप्रमुख सुम्निमा डिसी वली, प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर भट्टराई, वडा अध्यक्षहरू, कार्यपालिकाका पदाधिकारी तथा विषयगत शाखा प्रमुखहरू सहित ३८ जनाको सहभागिता रहेको थियो। कार्यक्रममा सीएमसी नेपालका नीति तथा सुशासन प्रमुख तथा कार्यक्रम प्रमुख हिमाल गैरे तथा मनोचिकित्सक डा. विवेक रेग्मीले अपाङ्गता समावेशीकरण र मानसिक स्वास्थ्य सम्बन्धी विषयमा प्रस्तुतीकरण गरेका थिए।

कार्यक्रममा जनप्रतिनिधिहरूले समावेशी समाज निर्माणलाई अबको प्रमुख प्राथमिकता बनाउनुपर्ने उल्लेख गर्दै बजेट तयारीको चरणमा रहेको अवस्थामा यस्तो अन्तरक्रिया कार्यक्रम फलदायी भएको बताएका थिए।

सीएमसी नेपालले विगत ७ महिनादेखि सल्यान जिल्लाको बागचौर र छत्रेश्वरी गाउँपालिकामा मानसिक स्वास्थ्य, अपाङ्गता समावेशीकरण, समावेशी तथा पहुँचयुक्त शिक्षा, साथी सहयोगी समूह तथा मानसिक स्वास्थ्य स्वावलम्बन समूहको क्षमता विकास तथा परिचालन गर्दै आएको जनाएको छ।

संस्थाले मानसिक स्वास्थ्य तथा अपाङ्गता भएका व्यक्तिहरुको समावेशी तथा पहुँचयुक्त सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले विभिन्न सचेतनामूलक, क्षमता विकास तथा सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्दै आएको छ। साथै १० वटा विद्यालयमा समावेशी शिक्षा तथा मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन भइरहेको समेत जानकारी दिइएको छ।