सल्यान, असार १९ — बागचौर नगरपालिकाले स्वास्थ्य पूर्वाधार विस्तारमा अर्को महत्वपूर्ण फड्को मारेको छ। नगरपालिका–२, थारमारेमा १५ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको १० शय्याको आधारभूत अस्पताल भवनको शुक्रबार नगर प्रमुख जनकराज गौतमले शिलान्यास गरेका छन्।

स्थानीय नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा आफ्नै पालिकाभित्र उपलब्ध गराउने उद्देश्यका साथ अस्पताल निर्माण प्रक्रिया अघि बढाइएको नगरपालिकाले जनाएको छ। निर्माणको जिम्मा जन आदर्श–भूमिराज–लोकमणी जेभीले पाएको छ।

शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख गौतमले अस्पताल निर्माणले बागचौरवासीलाई सामान्य उपचारका लागि जिल्ला बाहिर धाउनुपर्ने बाध्यता क्रमशः अन्त्य हुने विश्वास व्यक्त गरे। उहाँले स्वास्थ्य क्षेत्रलाई नगरपालिकाको प्राथमिकतामा राखेर आवश्यक पूर्वाधार विकासमा निरन्तर लगानी गरिने प्रतिबद्धता पनि जनाउनुभयो।

कार्यक्रममा उपप्रमुख सुम्निमा डि.सी. वली, प्रमुख प्रशासकीय अधिकृत टङ्कबहादुर भट्टराई, नगर प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष दिपेश डि.सी., वडा नं. ३ का अध्यक्ष भिमप्रकाश भण्डारी, वडा नं. ४ का अध्यक्ष कृष्णबहादुर बस्नेत, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, अस्पतालका लागि जग्गा उपलब्ध गराउने दाताहरू, महिला स्वास्थ्य स्वयंसेविका, विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो।

नगरपालिकाले स्वास्थ्य पूर्वाधारलाई सुदृढ बनाउँदै नागरिकलाई आफ्नै स्थानीय तहबाट गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यका साथ स्वास्थ्य क्षेत्रमा लगानी विस्तार गर्दै आएको जनाएको छ। १५ करोड रुपैयाँको लागतमा बन्ने अस्पताल सञ्चालनमा आएपछि बागचौर क्षेत्रका हजारौं नागरिक प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।









