सल्यान, असार ८ — बागचौर नगरपालिकाका प्रमुख जनकराज गौतममाथि सामाजिक सञ्जाल फेसबुकमार्फत काठ तस्करीको आरोप लगाउँदै आएका आफूलाई ‘जेन्जी अभियन्ता’ बताउने युवराज खड्कालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार खड्कालाई सोमबार बिहान १० बजे शारदा नगरपालिका–४ साइलाकम्दबाट नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी दिपक पातलीले बागचौर नगरपालिकाका प्रमुख गौतमले दिएको निवेदनका आधारमा खड्कालाई पक्राउ गरिएको जानकारी दिनुभयो।
प्रहरीका अनुसार खड्काविरुद्ध साइबर अपराध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। सामाजिक सञ्जालमार्फत व्यक्तिमाथि आरोप लगाउने, मानहानी हुने खालका सामग्री सार्वजनिक गर्ने तथा विद्युतीय माध्यमको दुरुपयोग गरेको विषयमा अनुसन्धान भइरहेको बताइएको छ।
खड्काले केही समयदेखि फेसबुकमा मेयर गौतममाथि काठ तस्करी गरेको आरोप लगाउँदै विभिन्न स्टाटस, टिप्पणी तथा सामग्री सार्वजनिक गर्दै आएका थिए। ती सामग्रीले आफ्नो व्यक्तिगत तथा सार्वजनिक प्रतिष्ठामा असर पुगेको भन्दै मेयर गौतमले कानुनी प्रक्रियाअनुसार उजुरी दिनुभएको स्रोतले जनाएको छ।
यस विषयमा प्रारम्भिक चरणमा जिल्ला प्रहरी कार्यालयमा उजुरी परे पनि तत्काल पक्राउ प्रक्रिया अघि बढेको थिएन। पछि मेयर गौतमले सरकारी वकिलको कार्यालयमार्फत गत वैशाखमा औपचारिक निवेदन दर्ता गराउनुभएको थियो। सोही निवेदनका आधारमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी प्रहरीले खड्कालाई नियन्त्रणमा लिएको जनाएको छ।
यसअघि तत्कालीन जिल्ला प्रहरी प्रमुख हेमबहादुर केसीको कार्यकालमा पक्राउ प्रक्रिया अघि नबढेको भए पनि हालका प्रहरी प्रमुख डिएसपी दिपक पातलीको नेतृत्वमा उक्त मुद्दाको अनुसन्धानलाई प्राथमिकताका साथ अगाडि बढाइएको बताइएको छ।
पक्राउ परेका खड्कालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अनुसन्धानबाट प्राप्त तथ्य र प्रमाणका आधारमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरीको भनाइ छ।
यो घटनाले सामाजिक सञ्जालको प्रयोग, अभिव्यक्ति स्वतन्त्रता र त्यसको कानुनी सीमाबारे पुनः बहस सुरु गराएको छ। प्रहरीले सामाजिक सञ्जाल प्रयोग गर्दा पुष्टि नभएका आरोप तथा व्यक्तिको प्रतिष्ठामा असर पुग्ने सामग्री प्रकाशन गर्दा कानुनी जिम्मेवारी वहन गर्नुपर्ने भएकाले सचेत रहन सबैलाई आग्रह गरेको छ।