सल्यान, असार ७ —

सिद्ध कुमाख गाउँपालिकाको १९औँ गाउँसभाको पहिलो बैठक भव्यताका साथ सम्पन्न भएको छ।
गाउँसभा अध्यक्ष भरत गिरीले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गर्नुभएको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल भई गाउँसभाबाट स्वीकृत भएको छ।

त्यसैगरी गाउँसभा उपाध्यक्ष रामबहादुर बस्नेतले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३९ करोड २९ लाख ६८ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको छ। प्रस्तुत बजेटमध्ये चालु खर्चतर्फ २७ करोड २६ लाख ४२ हजार ६०२ रुपैयाँ (६९.३८ प्रतिशत) तथा पुँजीगत खर्चतर्फ १२ करोड ३ लाख २५ हजार ३९८ रुपैयाँ (३०.६२ प्रतिशत) विनियोजन गरिएको छ।


बैठकमा विनियोजन विधेयक, २०८३ र आर्थिक विधेयक, २०८३ समेत छलफलका लागि पेश गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँसभाको दोस्रो बैठक २०८३ असार २१ गते बस्ने तय गरिएको छ। उक्त बैठकमा प्रस्तुत बजेट तथा विधेयकमाथि थप छलफल गरी पारित गर्ने कार्यसूची रहेको जनाइएको छ।