सल्यान बैशाख २०— बनगाड कुपिण्डे नगरपालिका–११ पाँचे क्षेत्रको जंगलमा लागेको वन डढेलोका कारण स्थानीयवासी गम्भीर समस्यामा परेका छन्। आगलागीका कारण खानेपानी आपूर्तिमा प्रयोग हुने पाइप जलेर नष्ट भएपछि उक्त क्षेत्रमा खानेपानी संकट उत्पन्न भएको हो।

स्थानीयका अनुसार विगत तीन दिनदेखि निरन्तर आगो लागिरहे पनि पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। आगो नियन्त्रणका लागि स्थानीयवासीले सक्रिय रूपमा प्रयास गरिरहेका भए पनि कठिन भौगोलिक अवस्था र सीमित स्रोतसाधनका कारण नियन्त्रणमा समस्या भइरहेको छ।

डढेलोले खानेपानीको मुख्य पाइपलाइन जलेर क्षति पुगेपछि गाउँमा पानी आपूर्ति ठप्प भएको छ। अहिले स्थानीयवासीहरू आफैंले पाइप मर्मत तथा व्यवस्थापन गर्न जुटिरहेका छन्।
स्थानीय बासिन्दा तथा सामाजिक अभियन्ता राजेन्द्र विक (राजन) ले जनप्रतिनिधि र सम्बन्धित निकायलाई तत्काल ध्यान दिन आग्रह गरेका छन्। उनले वडाध्यक्ष, नगरप्रमुख, प्रदेश सभा सदस्य तथा प्रतिनिधि सभा सदस्य लगायत सरोकारवालाहरूले शीघ्र पहल गर्दै नयाँ फलामका पाइप उपलब्ध गराई “एक घर एक धारा” कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने बताएका छन्।
स्थानीयहरूले खानेपानी समस्या छिटो समाधान गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेका छन्।








