फागुन ४ गते । आसन्न निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र सबैका लागि समान सहभागितायुक्त बनाउन युवा मानव अधिकार रक्षक सञ्जाल, सल्यान ले मतदान स्थलमा पहुँचयोग्यता सुनिश्चित गर्न र कालिमाटी क्षेत्रमा पाटेबाघ नियन्त्रणसहित प्रभावकारी सुरक्षा व्यवस्था गर्न माग गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधीसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सञ्जालले सहज र विशेष मतदान प्रक्रियाको माग गरेका हो ।
युवा मानव अधिकार रक्षक सञ्जाल, सल्यानका अध्यक्ष अस्मिता बस्नेतले प्रत्येक मतदान स्थलमा सबै नागरिकले समान र सम्मानजनक व्यवहार र व्यवस्था पाउनुपर्ने बताउनुभयो । उहाँले निर्वाचनका बेला सामान्य नागरिकसँगै अपाङगता भएका व्यक्तिहरू, जेष्ठ नागरिक, गर्भवती, शारीरिक रूपले अशक्त र अस्वस्थ मतदाताहरू पनि सहभागी हुने भएकोले उनीहरूलाई सजिलोगरी मतदान प्रक्रियामा सहभागी गराइनुपर्ने जनाउनुभयो । सञ्जालका सचिव प्रदीप घर्तीमगरले मतदानको बेला पछाडी परेका वा पारिएका व्यक्तिहरू, शारीरिक रूपले अशक्त व्यक्तिहरूलाई विशेष सुविधा दिनुपर्ने बताउनुभयो । साथै, कालिमाटी गाउँपालिका–६ र ७ अन्तर्गत घुइयाबारी तथा हात्तीढुंगा क्षेत्रमा पछिल्लो समय पाटेबाघको आक्रमण बढ्दै जाँदा स्थानीय बासिन्दा त्रसित बनेको र त्यस क्षेत्रका नागरिकले सुरक्षाप्रति गम्भीर चिन्ता व्यक्त गरेको र बाघ नियन्त्रण र सुरक्षा सुनिश्चित नभएसम्म चुनावी प्रक्रियामा सहभागी नहुने चेतावनीसमेत स्थानीयले दिएकाले उहाँले उक्त कुराको सहजीकरणका लागि प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण समेत गराएको जनाउनुभयो ।
विभिन्न सात बुँदाहरू राखेर प्रमुख जिल्ला अधिकारी महेन्द्र कुमार सापकोटा समक्ष ज्ञापनपत्र बुझाएको र मागहरूको सम्बोधनका लागि पहल गर्ने प्रतिक्रिया पाएको उहाँले जानकारी दिनुभयो । ज्ञापनपत्रमा मतदान केन्द्रमा र्याम्प, ह्वीलचेयर तथा सहज पहुँचको व्यवस्था,अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती तथा अशक्त मतदाताका लागि छुट्टै प्राथमिकता लाइन,स्वयंसेवक परिचालनमार्फत आवश्यक सहजीकरण,दृष्टिविहीन तथा अशक्त मतदाताका लागि सहयोगी व्यक्ति प्रवेश सम्बन्धी स्पष्ट निर्देशिका कार्यान्वयन,स्वास्थ्य अवस्था कमजोर भएका मतदाताका लागि बस्ने र प्राथमिक उपचारको आधारभूत व्यवस्था,कालिमाटी क्षेत्रको नियमित अनुगमन गर्दै पाटेबाघ नियन्त्रण, पीडित परिवारलाई राहत तथा दीर्घकालीन समाधानका लागि प्रभावकारी पहल,सुरक्षा कडाइ गरी स्थानीय नागरिकलाई निर्भय रूपमा चुनावी प्रक्रियामा सहभागी गराउने सुनिश्चितताको माग गरिएको छ । मागहरू कार्यान्वयनका लागि स्थानीय सरकार, नीजि अस्पतालहरू, पर्यवेक्षकहरू समेतलाई सहकार्य र समन्वयमार्फत जिम्मेवार बनाउन सकिने समेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ । त्यसैगरी फरक क्षमता भएका तथा शारीरिक रूपमा अशक्त मतदाताहरूलाई स्टेचर तथा ह्विलचियरको व्यवस्था गर्नुपर्ने, प्रत्येक मतदान स्थल नजिक एम्बुलेन्स तयारी अवस्थामा राख्नुपर्ने र त्यस्ता मतदाताहरूको आवतजावत सहज बनाउन विशेष सहजीकरण गर्नुपर्ने माग राखिएको छ । प्रमुख जिल्ला अधिकारी महेन्द्र कुमार सापकोटा ले ज्ञापनपत्र बुझ्दै उठाइएका मागहरू जायज र समयसापेक्ष भएको बताउनुभयो । उहाँले निर्वाचनलाई सबै नागरिकका लागि सुरक्षित, पहुँचयुक्त र मर्यादित बनाउनु प्रशासनको दायित्व भएको उल्लेख गर्दै मतदान स्थलमा आवश्यक पूर्वाधार, स्वयंसेवक परिचालन तथा स्वास्थ्य सुरक्षासम्बन्धी व्यवस्थाका लागि सम्बन्धित निकायसँग समन्वय गरिने प्रतिबद्धता जनाउनुभयो ।
साथै, कालिमाटी गाउँपालिका क्षेत्रमा बढ्दो पाटेबाघको जोखिमप्रति गम्भीर ध्यान दिइने बताउँदै उहाँले सुरक्षा निकाय, वन कार्यालय र स्थानीय सरकारसँग सहकार्य गर्ने स्पष्ट पार्नुभयो । नागरिकले निर्भय रूपमा मतदान प्रक्रियामा सहभागी हुन पाउने वातावरण बनाउनेतर्फ प्रशासन पूर्ण रूपमा क्रियाशील रहने उहाँको भनाइ थियो । मागहरू कार्यान्वयनका लागि स्थानीय सरकार, नीजि अस्पतालहरू, पर्यवेक्षकहरू समेतलाई सहकार्य र समन्वयमार्फत जिम्मेवार बनाउन सकिने समेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।








