सल्यान — समुदायको लागि सञ्चार सल्यान को आयोजनामा दोस्रो बागचौर कृषि, वन, पर्यटन तथा सांस्कृतिक महोत्सव २०८३ आगामी जेठ १ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने भएको छ। महोत्सव बागचौर नगरपालिका–२ मा आयोजना गरिने आयोजकले जनाएको छ।
स्थानीय कृषि उत्पादन, वनजन्य स्रोत, कला, संस्कृति तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सवमा कृषि तथा घरेलु उत्पादन प्रदर्शनी, व्यापारिक स्टल, स्थानीय परिकार, पर्यटन प्रवर्द्धनात्मक गतिविधि तथा विविध सांस्कृतिक कार्यक्रम समावेश गरिने बताइएको छ।
महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति, सांस्कृतिक झाँकी, नृत्य तथा मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन गरिने आयोजकले जनाएको छ। यस कार्यक्रमले स्थानीय कला, संस्कृति र उत्पादनको प्रचार–प्रसारसँगै आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ।
आयोजकका अनुसार महोत्सवले स्थानीय व्यवसाय प्रवर्द्धन, कृषक तथा उद्यमीलाई बजार व्यवस्थापनमा सहयोग पुर्‍याउनुका साथै सामाजिक तथा सांस्कृतिक एकतालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
महोत्सवलाई सभ्य, भव्य र सफल बनाउन सम्पूर्ण नगरवासी, जिल्लावासी तथा सरोकारवाला निकायलाई सहभागी हुन आयोजकले आग्रह गरेको छ।