सल्यान — सिद्ध कुमाख गाउँपालिका–३, डाँडाकटेरीमा आयोजना गरिएको चौथो वडा कप पुरुष तथा महिला भलिबल प्रतियोगिता–२०८२ सोमबार एक भव्य समारोहका बीच औपचारिक रूपमा उद्घाटन गरिएको छ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित सुरु भएको यस प्रतियोगिताको प्रमुख अतिथि सिद्ध कुमाख गाउँपालिकाका अध्यक्ष भरत गिरी रहनु भएको थियो।

उद्घाटन समारोहमा विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष राम बहादुर बस्नेत र कार्यक्रमका सभाध्यक्ष वडा नं ३ का अध्यक्ष जिबराज बोहरा हुनुहुन्थ्यो।

समारोहमा बोल्दै प्रमुख अतिथि गिरीले गाउँस्तरमै आयोजना हुने खेलकुद प्रतियोगिताले युवामा अनुशासन, स्वास्थ्य र एकताको भावना विकास गर्न ठूलो योगदान पुर्‍याउने बताउनुभयो। उहाँले खेलकुद क्षेत्रलाई संस्थागत बनाउन गाउँपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो।

प्रतियोगिता असोज २७ गतेदेखि २८ गतेसम्म सञ्चालन हुनेछ। यसमा पुरुष तथा महिला दुवै समूहका टोल र क्लबहरूबीच प्रतिस्पर्धा हुनेछ।
कार्यक्रमको आयोजना सिद्ध कुमाख गाउँपालिका–३ नं वडा कार्यालय, डाँडाकटेरी, सल्यानले गरेको हो।

उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षक, युवा तथा खेलप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रम वातावरण उल्लासमय बनेको थियो।