असोज २२,सल्यानमा आयोजना गरिएको प्रथम ‘जय नेपाल कप’ खुल्ला भलिबल प्रतियोगिता–२०८२ आज भव्य समारोहका बीच उद्घाटन भएको छ। प्रतियोगिता बागचौर नगरपालिका, थारमारेमा आयोजना गरिएको थियो।

कार्यक्रमको अध्यक्षता नेपाल विद्यार्थी सङ्घ जिल्ला कार्यसमिति सल्यानका अध्यक्ष केशव डाँगीले गर्नु भएको थियो। अध्यक्ष डाँगीले भन्नुभयो, “खेलकुदले युवामा अनुशासन, सहकार्य र स्वास्थ्य विकासमा ठूलो भूमिका खेल्छ। ‘जय नेपाल कप’ जस्ता प्रतियोगिताले यहाँका युवा खेलाडीलाई नयाँ अवसर र प्रोत्साहन दिनेछन्। हामी सबैले खेलकुदलाई प्राथमिकता दिनुपर्छ र युवा प्रतिभालाई अघि बढाउनु पर्छ।”

उद्घाटन समारोहमा प्रमुख अतिथि नेपाली काँग्रेस कर्णाली प्रदेश सह–महामन्त्री एकराज डाँगी हुनुहुन्थ्यो। उहाँले पनि खेलकुदमार्फत युवाहरूले देश र समाजको विकासमा सक्रिय योगदान गर्नु आवश्यक रहेको बताउनुभयो।

प्रतियोगितामा राष्ट्रिय रेफ्री तथा FIVB Level One कोचको नेतृत्वमा खेल सञ्चालन हुने जानकारी आयोजकले दिएको छ। यसले प्रतियोगिताको स्तर र गुणस्तर दुवै उकास्ने अपेक्षा गरिएको छ।

समारोहमा विशेष अतिथिका रूपमा नेपाली काँग्रेस कर्णाली प्रदेश सदस्य रुद्र चन्द, महाधिवेशन प्रतिनिधि मानबहादुर डाँगी, जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावल, बागचौर नगरपालिका प्रमुख जनकराज गौतम, सिद्धकुमाख गाउँपालिका अध्यक्ष भरत गिरी लगायतको उपस्थिती रहेको थियो। त्यसैगरी, विभिन्न पालिकाका सभापति, भातृ संगठनका प्रतिनिधि, शुभेच्छुक संस्था, जनप्रतिनिधि, सुरक्षा निकाय र खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।









