रोल्पा — गंगादेव गाउँपालिका–४, बसारेचौरमा यस वर्षको सानो कुमाख मेला–२०८२ हिजो एक भव्य समारोहका साथ उद्घाटन गरिएको छ। श्री सिद्ध आ बि विद्यालयको प्राङ्गणमा सम्पन्न उद्घाटन कार्यक्रममा गंगादेव गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ४ वडाअध्यक्ष कृष्ण वली ‘बिपिन’ प्रमुख अतिथि रहनु भएको थियो।

कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधि, व्यापारी, बुद्धिजीवी, जेष्ठ नागरिक सुरक्षाकर्मी , र स्थानीय बासिन्दाहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य शिक्षक ललित केसीले राख्नु भएको थियो, भने सञ्चालन सचिव नवीन वलीले गर्नुभएको थियो। कार्यक्रमको अध्यक्षता कार्यक्रम संयोजक लक्ष्मण थापाले गर्नुभएको थियो।

मेलामा विभिन्न मनोरञ्जनात्मक तथा प्रतिस्पर्धात्मक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्, जसमा पुरुष खुल्ला भलिबल, खुल्ला हाजिरी जवाफ, सटफुट, एकल म्युजिक नृत्य, घैटोफोड र भाले छोप्ने प्रतियोगिता प्रमुख आकर्षण रहेका छन्।

भलिबल प्रतियोगितामा प्रथम हुने टोलीलाई ८० हजार रुपैयाँ, द्वितीयलाई ३० हजार रुपैयाँ, र तृतीयलाई २० हजार रुपैयाँ पुरस्कारका रूपमा प्रदान गरिनेछ। अन्य प्रतियोगिताका विजेताले पनि आकर्षक नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र पाउनेछन्।

मेलाको उद्देश्य स्थानीय संस्कृति, खेलकुद र सामुदायिक एकतालाई सशक्त बनाउने रहेको आयोजक समितिले जनाएको छ।

मिति: २०८२ असोज १८ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने छ ।
स्थान: श्री सिद्ध आ.वि. प्राङ्गण, गंगादेव गाउँपालिका–४, बसारेचौर, रोल्पा
आयोजक: सानो कुमाख मेला मूल आयोजक समिति तथा बजार व्यवस्थापन समिति रहेको छ ।