असोज १२ सल्यान
सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार रुकुम पश्चिमबाट  दाङ तुलसीपुरतर्फ जाँदै गरेको लु २ ख ६५०२ नम्बरको फोर्स गाडी आइतबार बिहान करिब ४ बजे दुर्घटनाग्रस्त भएको हो । नाम, थर, वतन नखुलेकी एक महिला र दुई पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरी जनाएको छ ।
घटनाको घाइतेहरूमा रूकुम बाफिकोट ५ का ४७ बर्षिय खकेन्द्र केसी र ३६ बर्षिय विना केसी रहेका छन ।
घाइतेहरूको टाउको र शरीरका विभिन्न भागमा चोट लागेका कारण अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि दाङ हुँदै नेपालगञ्ज रिफर गरिएको छ ।
प्रहरीका अनुसार रातको समयमा भएको दुर्घटनामा जिप सडकबाट करिब ३००–४०० मिटर तल खसेको हो । घटनास्थलमा प्रहरी टोली खटिएको र उद्धार कार्य सम्पन्न गरिएको सल्यान प्रहरीले जानकारी दिएको छ ।