असोज, सल्यान
बागचौर नगरपालिका–४, शिवरथस्थित सरस्वती माध्यमिक विद्यालयले नयाँ दुई कोठे पक्की भवनको उद्घाटन गर्दै आर्थिक वर्ष २०८१/८२ को सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ। सोही अवसरमा विद्यालयले दशैं–तिहार शुभकामना आदान–प्रदान कार्यक्रम समेत सम्पन्न गरेको थियो।

कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेशका पूर्व कृषि मन्त्री तथा प्रदेश सांसद भिमप्रकाश शर्माले विद्यालयलाई नमूना विद्यालय र आवासीय भवनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा नगर उपप्रमुख सुम्निमा डिसी वली विशिष्ट अतिथिको रूपमा उपस्थित हुनु भएको थियो।

शिक्षा अधिकृत नरेन्द्र प्रसाद भट्ट, वडा नं. ४ का अध्यक्ष कृष्णबहादुर बस्नेत, विद्यालयका पूर्व अध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा आमा समूहहरूको समेत उपस्थिति रहेको थियो।

विद्यालयका प्रधानाध्यापक नरेश कुमार के.सी.ले सामाजिक लेखापरीक्षण प्रतिवेदनसहित विद्यालयका भावी योजना प्रस्तुत गर्नुभयो।

वक्ताहरूले शिक्षा नै समग्र विकासको आधार भएकाले विद्यालय सुधारका लागि भेदभावरहित वातावरण निर्माण गर्दै सबै पक्ष एकसाथ अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद पुनको अध्यक्षतामा सम्पन्न भएको थियो भने सहजीकरण सहायक प्रधानाध्यापक रविकिरण ओलीले गर्नुभएको थियो।